बढ्दै विदेशमा नेपाली चलचित्रको बजार

 
सिन्धुली । नेपाली चलचित्रको बजार विदेशमा बढ्दै गएको छ । लगानी उठाउने मात्र नभइ विदेशी बजारबाट मुनाफा प्राप्त हुन थालेको हो । नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्र बजार विस्तार भइरहेको छ । 

 

मौलिक कथा र कलात्मक प्रस्तुति बाहेकका चलचित्रलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सहज छैन । नेपालपछि नेपाली चलचित्रका लागि अष्ट्रेलिया, अमेरिका, जापान, बेलायतलगायत देशमा बजार बनिरहेको छ । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले हलमै दर्शकले हेर्न पाउँछन् । दर्शकले व्यक्तिगत रूपमा हल बुक गरेर चलचित्रको प्रदर्शनी गर्ने शैलीमा परिवर्तन आएको अमेरिकामा नेपाली चलचित्र प्रदर्शन गर्ने कम्पनी नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीका निर्देशक प्रतीक सुवेदी बताउँनुहुन्छ । 

 

व्यक्तिगत सोका रूपमा केही घन्टाका लागि चलचित्र भवन भाडामा लिएर देखाइने चलचित्र हेर्न तिर्नुपर्ने शुल्क बक्स अफिसमा टिकट काटेर हेरिएका चलचित्रभन्दा महँगो पर्ने उहाँको भनाइ छ ।

 

’बुक गरेर प्रदर्शन गर्दा ३० डलरसम्म पर्दछ । यसको सम्पूर्ण व्यवस्थापन प्रदर्शक स्वयंले गर्नुपर्छ । बक्स अफिसमा प्रदर्शन गर्दा हामीलाई त्यो झन्झट हुँदैन भने आफूलाई पायक पर्ने समयमा दर्शकले हेर्न पाउँछन्’, उहाँले भन्नुभयो । उहाँले ‘प्रेम गीत ३’, ‘महापुरुष’, ‘जारी’ लगायत चलचित्र नियमितरूपमै प्रदर्शन भएको सुनाउनुभयो । 

 

अष्ट्रेलियामा नियमित रूपमा चलचित्र ‘प्रसाद २’ प्रदर्शन भइरहेको छ । स्थानीय प्रदर्शक नमस्ते इन्टरटेनमेन्टका देव कार्कीले नियमित सोमा नै दर्शक हेर्न आउने क्रम बढेको बताउनुभयो । ’हामीले चलचित्र भवनलाई सहज बनाइदिएका हौँ । चलचित्र आफैँ ल्याएर सम्पूर्ण जिम्मेवारी लिएर प्रदर्शन गर्दा चलचित्र भवनको दायित्व नै देखिएन । अहिले विदेशी अन्य चलचित्र झैँ नेपाली चलचित्र पनि प्रदर्शन गर्न सुरु गरेका छौँ’, उहाँले भन्नुभयो । 

 

कुनै समय विदेशमा चलचित्र प्रदर्शन गर्न निकै सङ्घर्ष गर्नुपरेको निर्माता एवं कलाकार रवीन्द्रसिंह बानियाँले बताउनुभयो । रेस्टुराँ, सामुदायिक भवनमा चलचित्र देखाइएको अनुभव उहाँसँग छ । उहाँले निर्माण गर्नुभएको ‘टल्क जङ्ग भर्सेस टुल्के’ नेपालबाहेक अन्य धेरै देशमा प्रदर्शन भएको थियो । ’खुलारूपमा प्रदर्शन गर्दा पाइरेसीको जोखिम पनि उत्तिकै हुन्छ’, उहाँले भन्नुभयो । 

 

विदेशी बजारमा चलचित्र भवनमै हुने प्रदर्शनले नेपाली निर्मातालाई पाइरेसीको समस्याबाट छुटकारा मिलेको निर्माता बानियाँले बताउनुभयो । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन चलचित्रकर्मी पनि उत्तिकै सजग र जिम्मेवार हुनुपर्ने उहाँको बुझाई छ ।

 

यस वर्ष दशैँ र तिहारसम्म प्रदर्शन घोषणा भएका केही नेपाली चलचित्रले नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा पनि सँगै प्रदर्शन घोषणा गरेका छन् । प्रविधिले दिएको सहजतासँगै नेपाली चलचित्र व्यापार अन्तर्राष्ट्रिय बजारमा विस्तार भएमा नेपाली चलचित्रको सम्भावना बढ्दै जाने चलचित्रकर्मीको धारणा छ ।

प्रतिकृया दिनुहोस