कांग्रेसले मन्त्री र स्थानीय जनप्रतिनिधिका लागि कार्यसम्पादन निर्देशिका बनाउने

 

काठमाडौं । नेपाली कांग्रेसले मन्त्री र जनप्रतिनिधिहरूको कार्यसम्पादन सम्बन्धी निर्देशका बनाउने भएको छ । कांग्रेसका मन्त्री र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पार्टीसँग समन्वय नगरेको गुनासो बढेपछि निर्देशिका ल्याउन लागिएको हो ।


प्रदेश, संघमा मन्त्री बनेका र स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरूको पार्टीसँग समन्वय गर्नका लागि निर्देशिका बनाउन लागिएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिनुभयो । 


‘संघ, प्रदेशमा मन्त्री बन्ने, स्थानीय तहमा कांग्रेसबाट जित्ने तर पार्टीलाई रिपोर्टिङ नगर्ने प्रवृत्ति छ,’ ती पदाधिकारीले भन्नुभयो, ‘घोषणापत्र एकातिर मन्त्री र स्थानीय तहका जनप्रतिनिधिको काम अर्कोतिर भएको छ ।’

 

मन्त्री र स्थानीय तहका जनप्रतिनिधिले सुधारको कार्य गरे आफ्नो कारणले भएको भन्दै जस लिने प्रवृत्ति रहेको कांग्रेस नेताहरू बताउँछन् । तर, गलत कार्य गरे अपजसको भागिदार पार्टी हुनुपर्ने भएकाले त्यस्तो अवस्थाका अन्त्य गर्नका लागि निर्देशिका ल्याउन लागिएको शीर्ष तहका नेताको भनाई छ ।

 

सोमबार बसेको शीर्ष तहका नेताको बैठकमा निर्देशिका बनाउने विषयले प्रवेश पाएको थियो । बुधबारबाट बस्ने केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले निर्देशिका पेश गर्ने भएका छन् ।

 

पार्टीका एक पदाधिकारीले भन्नुभयो्, ‘संघ र प्रदेशका मन्त्रीले गर्ने कामलाई थप व्यवस्थित बनाउने, जनमुखी बनाउन लगाउने, पार्टीप्रति बढी उत्तरदायी गराउने, स्थानीय तहका जनप्रतिनिधिले पार्टीसँग समन्वय गर्ने गरी निर्देशिका आउँछ ।’
 

प्रतिकृया दिनुहोस