सिन्धुलीमा तीन दलका महिला संघ साँझा मुद्धामा सँगसँगै


सिन्धुली । जिल्लाका ठुला तीन दलका महिला संघ महिलाका साँझा मुद्धामा सँगसँगै देखिन थालेका छन् । महिलाका सवाल, सामाजिक विषय र राष्ट्रहितका मुद्धामा सँगसँगै देखिन थालेका हुन् । 


नेपाली काँग्रेसको महिला संगठित नेपाल महिला संघ, नेकपा एमालेको अखिल नेपाल  महिला संघ र नेकपा माओवादी केन्द्रको अखिल नेपाल महिला संघ (क्रान्तिकारी), सिन्धुलीले मंगलबार सिन्धुलीमाडीमा महिलाका समसामयिक सवालमा संयुक्त  छलफल कार्यक्रमको आयोजना गरेर साँझा मुद्धामा एकजुट भएको सन्देश दिएका काँग्रेस नेतृ तथा  जिल्ला समन्वय समिति उपप्रमुख शान्ता कार्कीले जानकारी दिनुभयो ।


महिलाका समसामयिक सवालमा छलफल कार्यक्रमको प्रमुख अतिथिसमेत रहनु भएको कार्कीले महिलाबीच चेतनाको अभावका कारण एउटा महिला अगाडी बढाउन अरु महिलाले खुलेर समर्थन नगर्नु दुःखद पक्ष रहेकोले यो पक्षलाई चिर्न यसले सहयोग उहाँले बताउनुभयो ।  


जबसम्म महिलाहरु एकजुट भएर अगाडी बढ्दैनन्, तबसम्म महिलाका सवालहरु ओझेलमा पर्ने उहाँको भनाई छ । “कतिपय घटनामा महिला महिलाबीच नै एकता हुन नसक्दा महिला अधिकार र सशक्तिकरणका सवाल ओझेलमा परेका छन् । महिला एकता, संगठित र सक्रियता आजको आवश्यकता हो,” उहाँले भन्नुभयो ।


अहिले समाजमा बढ्दै गएको लैंगिक हिंसाको रोकथाम, न्यायमा पहूँच, सशक्तिकरण र सुशासनका लागिसमेत महिलाको नेतृत्वदायी भूमिका महत्वपुर्ण हुने उहाँको धारण । 


कार्यक्रममा सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले महिलाको मुद्धालाई स्थापित गर्न अब हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै पालिकामा महिलालाई प्रमुख नेतृत्वमा उम्मेदवारी दिलाउन सबै दलको ध्यानाकर्षण गराउनुभयो ।

 

आफु पालिका प्रमुख भएपछि महिला शसक्तिकरणका क्षेत्रमा भएको सुधार बारे बताउँदै नेतृत्वदायी भुमिका अब्बल रुपमा निर्वाह गर्न महिला सक्षम रहेको धारणा राख्नुभयो । उहाँले आफ्नो अधिकार खोज्दै गर्दा अरुको अधिकार हनन् नगर्न पनि सर्वदलीय महिला संयन्त्रलाई सचेत गराउनुभयो । जिल्लालाई हिंसा मुक्त बनाउन सबै दलका महिला एकृकित भएर अगाडी बढ्न पर्नेमा उहाँको जोड थियो । 


महिला नेतृ रश्मिला देवकोटाले महिला–महिला बिचमा गुटको गन्ध आउन दिन नहुनेमा कुरामा जिकिर गर्नुभयो । महिलाका सवाल, सामाजिक विषय र राष्ट्रहितका मुद्धामा सर्वदलीय महिला सँगसँगै अगाडी बढ्न आवश्यक रहेको बताउँदै गुट र उपगुटको अन्त्य गर्नुपर्ने उहाँको भनाई थियो । 


महिला नेतृ सविता कोईरालाले महिलाका मुद्धा स्थापित गर्न अग्रणी भूमिकामा रहेका महिलाहरु एकतावद्ध भएर अगाडि बढ्नु पर्ने बताउनुभयो । नेतृत्वदायी भूमिकामा महिलाको उपस्थिति नभएसम्म महिला आन्दोलन कमजोर उहाँको विचार थियो 


नेपाल महिला संघका अध्यक्ष गंगा दाहालको अध्यक्षता तथा जिल्ला समन्वय समिति उपप्रमुख शान्ता कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेमसंघ सिन्धुली अध्यक्ष पार्वती भट्टराई र पत्रकार विमला पाण्डेले लैंगिक हिंसा, त्यसको असर र न्युनिकरण, तिज पर्वको महत्व र त्यसले समाजमा पारेको प्रभाव, राजनीतिमा महिला सहभागिता, अवसर र चुनौती, उद्यमी महिलाहरुका अवसर र चुनौती, जलवायु परिवर्तनले महिलामा पारेको प्रभावका बारेमा कार्यपत्र प्रस्तुत गदँै छलफल अगाडी बढाएका थिए । 


छलफल कार्यक्रममा सक्रिय सहभागीता जनाएका महिलाले यी र यस्ता महिलाका समस्या र सवाललाई सम्बोधन गर्न सबैभन्दा पहिला महिला–महिलाबीच सामुहिक एकता हुनु पर्नेमा जोड दिएका थिए ।  


संस्कृति र परम्पराको संरक्षण गरौँ, चाडपर्वहरुलाई सरल, सम्भ र सुसंस्कृत बनाऔँ भन्ने नाराका साथ नजिकिदै गरेको हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान, नाचगान र सामुहिक दर समेत खुवाउने कार्यक्रममा गरिएको थियो । 


महिलाका सवाल, सामाजिक विषय र राष्ट्रहितका मुद्धामा सबै दलका महिला एक ठाउँमा उभिएर विभिन्न अभियान अगाडी बढाउने तीन दलिय महिला संघबिच सहमति भएर यस्ता कार्यक्रमको सुरुवात गरिएको नेपाल महिला संघका अध्यक्ष गंगा दाहालले बताउनुभयो । महिला नेतृत्व स्थापितसँगै नेतृत्व विकास गर्न महिला स्वंयममा अध्यनशीलता, अनुशासन, इच्छाशक्ती लगायत धैर्यताको विकास गर्न जरुरी रहेको उहाँले विचार व्यक्ति गर्नुभयो ।


कार्यक्रममा नेकपा एमालेका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि माणिक ढकाल, राप्रपा नेता भिष्मराज श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष सूर्य पाख्रिन लगाएतका महिला नेतृहरुको समेत उपस्थिती रहेको थियो । 


 

प्रतिकृया दिनुहोस