कविता : आमा

 

विहान मन्द मन्द मुस्कुराउँदै झ्यालबाट छिर्ने उज्यालो प्रकाश 
कुनै सूर्यको किरण नभई मेरी आमाको हाँसो अनि उनको  स्पर्श हो
मेरो लागि


म अनुभूति गर्न सक्छु, आमा त्यो प्रकाशमा तिम्रो मुस्कान 
अनि त्यो न्यानोपनमा तिम्रो हातको स्पर्श
नौ महिनासम्म खेलेको तिम्रो गर्भ र सिङ्खो बालापन बितेको तिम्रो काख धन्य छ 
लाग्छ कुनै स्वर्गको सुख सयलभन्दा रत्तीभर पनि कम छैन
स्वर्ग ! स्वर्ग कस्ले देखेको छ र आमा ?
वस्, मेरो लागि त तिमी नै स्वर्ग हौ
जीवनको ज्योति हौ
मायाको सागर हौ
प्रेम र विश्वासको खम्बा हौ
मेरो कखरा सिक्ने पहिलो पाठशाला हौ
मेरो ढुकढुकी अनि आशा र भरोसा हौ
दुख पनि दुख जस्तो नलाग्ने तिम्रो काखको तृष्णा कहिल्यै नमेटिने रहेछ
कहिलेकाहीँ मेरा गाला मुसार्दै, कपाल सुम्सुम्याउँदै भन्ने गर्छैयौ नि
हेर् त ! उ त्यहाँ डाडाँमाथि अस्ताउँदै गरेको घाम 
हो म त्यही घाम हो, कुन बेला अस्ताउँछु पत्तै हुँदैन
त्यसैले म नभएपनि स्वाभिमानी भएर बाँच्नु 
दीन दुखीहरुको ओठको हाँसो बन्नु
थाहा छ आमा ! तिमीले त्यसो भन्दै गर्दा,
 एकछिन त मुटुको धड्कन नै बन्द भएजस्तो आभास हुन्छ
छाती चर्किएजस्तो भान हुन्छ
कसरी भनौँ तिमीलाई, तिमी बिना जीवन मरुभूमि जस्तै उजाड लाग्छ
पानी बिना छट्पटाइरहेको माछाजस्तै आकुलव्याकुल हुन्छ
न ओठमा हाँसो हुन्छ, न  त मनमा शान्ति,


त्यसैले आमा तिमी सधैँ मेरा लागि उदाउँदै गरेको सूर्य बन्नु
मुटुभरी कुहीएर घाउ बनेका अनगिन्ती रहरहरुको मल्हम बन्नु
बस्, सधैँ तिमी  मेरो वरिपरी रहनु म जहाँ भएपनि जहाँ पुगेपनि
हो आमा मेरा लागि तिमी सधैेँ त्यो उदाउँदै गरेको स्वर्णीम सूर्य बन्नु ल !


आज मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिनको अरबौँ खरबौँ शुभकामना तिमीलाई ।
 

प्रतिकृया दिनुहोस