कविता : बिस्तारै म तिमीलाई मनपर्ने छैन

 

यो खोल्सोलाई हेर जो नदी थियो कुनैबेला

एकदिन यसैगरी सुक्दैजानेछु म पनि

पौडी खेल्न मनहुँदा वा तिर्खा लागेको बेला

निराश बन्नेछौ तिमी र धिक्कार्नेछ्यौ मलाई

नाघेर मलाई दौडिनेछ्यौ अर्को खोल्सातिर !

मेरो मान्छे,

तिमीले सोचेझैँ म सधैँ रहनेछैन उस्तै

बद्लिनेछ मेरो हृदयको मौसम

झरी खोज्दा तिमीले त्यहाँ चर्को घाम लाग्न सक्छ

न्यानो खोज्दा तिमीले बरफको डल्ला खस्न सक्छ !

ढुक्क नहोउ !!!

तिमीलाई देख्नासाथ

दुधे बालकजस्तै क्वाँ-क्वाँ रुन सक्छु म

वा ठुस्किएर घुर्की लगाउन सक्छु तिमीलाई

बहुलाजस्तै रिसाइदिन सक्छु

हुनसक्छ डाको छोडेर रोइदिउँला

हुनसक्छ खित्का छोडेर हाँसिदिउँला

नभेटिनसक्छु म, तिमीले खोजेकै अवस्थामा !

तिम्रो तारिफमा लेखेको भन्दा पनि कलात्मक कविता

म भट्टी छिरेर साहुनीको तारिफमा लेखिदिन सक्छु

नारायण गोपालजस्तै पिएर पशु भएको बेलामा

म बहकिन सक्छु कुनै बखत र देखिनसक्छु राक्षस जस्तै !

मेरो कर्कश आवाज सुनेर

भुल्नेछ्यौ तिमीले मैले गाएको गीतको लय

देखेर मेरा उदास साँझहरू/फिक्का बिहानीहरू

तिमीलाई उराठ लाग्नेछु म

मेरो शब्दचयनमा मात खानेछ्यौ तिमी

बार-बार प्रश्न गर्नेछ्यौ आफैलाई

'के यो त्यही मान्छे हो जोसँग प्रेम भएथ्यो ?'

मलाई थाह छ

मेरा आदर्शको गहिराई नापेपछि

बुझ्नेछौ तिमीले कि म एउटा ढोंगी हुँ

देख्नेछौ मेरा फुस्रा हाँसोहरू

सुन्नेछौ मेरा फिक्का कविताहरू

मेरा बनावटी गफहरू

मेरा वाहियात योजनाहरू

घिन लाग्नेछ तिमीलाई मेरो अस्तित्वसँग !

उस्तै रहनेछैन म

एकदिन बोक्रा उक्किनेछ मेरो

तिमीले देख्नेछौ मेरा कमजोरीका बथान

तिमीले देख्नेछ्यौ मेरा विवशताहरू

बन्द कोठाभित्र भेट्नेछ्यौ एउटा अर्कै मान्छे

गम खानेछ्यौ तिमी मलाई असाहाय देखेर

हाँस्नेछ्यौ तिमी मेरा नियमित असफलताहरूमा !

मान्छे,

जसरी ढल्किँदै जान्छ दिन

उसैगरी ढल्किनेछ मेरो उमेर पनि

तिमीले फूल भनेको मान्छे चाउरी पर्नेछ

तिमीले जून भनेको मान्छेमा दाग लाग्नेछ

मेरो फुर्ती हराउनेछ/मेरो बल सकिनेछ

गल्नेछन् मेरा हड्डीहरू/खुम्चिनेछन् नशाहरू

फरक- विल्कुल फरक देखिनेछु म !

लुसिफर हुँदा तिमीले मनपराएको मान्छे

तिमीले प्रेम गर्दासम्म सैतान भैसक्नेछ

खसिसक्नेछ उ आकाशबाट

र बन्नेछ मृत्यु र अन्धकारको दुत

तिमीले स्वर्ग हुँदा मनपराएको मान्छे

तिमीले प्रेम गर्दासम्म नरक भैसक्नेछ

भत्किसक्नेछ उसको उज्यालो

मरिसक्नेछ उसको बिहान

अँध्यारो र दारा किटाइ/आँसु र श्राप

उकुसमुकुस हुनेछ तिमीलाई !

जसरी बालकरू अँध्यारोसँग डराउँछन्

त्यसैगरी डराउनेछ्यौ तिमी मसँग

जसरी आकाशबाट ताराहरू खस्छन्

त्यसैगरी नै खस्नेछ्यौ मबाट तिमी

हाम्रो सम्बन्ध बन्नेछ,

रङ्ग उडेको झुत्रो कपडाजस्तो

भुतको डरले सुनसान चौतारोजस्तो

कोही नहिँडेर घाँस उम्रिएको पुरानो बाटोजस्तो !

यसरी,

बिस्तारै म तिमीलाई मनपर्ने छैन !

प्रतिकृया दिनुहोस