गजल- अमला अधिकारी

 

जो आफ्नो हुदैन, उही दिलमा लगातार बस्छ
घरमा पनि मालिक भन्दा बढी चौकीदार बस्छ


गौण बसेरै योगदान दिन सकिन्छ समाजमा
जस्तो सुरुवालको नदेखिने भागमा इजार बस्छ


कि सँगै बस्छु,कि धन कमाउछु भन्यौ, साथ रोजें
ठिकै हो चक्कुको पनि एकातिर मात्रै धार बस्छ


हिँड्दा,बस्दा खाँदा, खेल्दा जुनै बेला  बस्न सक्छ
प्रेम सरकारी कर्मचारी भए पो शनिबार बस्छ


ओ छिमेकी हाम्रो अन्त्यस्टिमा बोलाइदिनु है !
एउटा छोरो पोल्यान्ड बस्छ, अर्को म्यानमार बस्छ।

प्रतिकृया दिनुहोस