सुनकोसी र घ्याङलेखका कांग्रेसलाई प्रशिक्षण 

 

सिन्धुली । नेपाली कांग्रेस जिल्ला प्रशिक्षण शाखा, सिन्धुलीले शनिबार सुनकोसी गाउँपालिका  र घ्याङलेख गाउँपालिकाका कांग्रेसलाई प्रशिक्षण दिएको छ । सुनकोसीका सात वडा र घ्याङलेखका पाँच वडामा रहेका क्रियाशील सदस्यहरूलाई छुट्टा–छुट्टै वडास्तरीय आधारभूत प्रशिक्षण दिएको हो । 


कांग्रेसका क्रियाशील सदस्यहरुलाई दिइने प्रशिक्षणलाई प्रभावकारी बनाउन कांग्रेस सचेतक शुशीला थिङ, कांग्रेस सिन्धुलीका पुर्व सभापति उज्वल प्रसाद बरालसहित कांग्रेस सिन्धुलीका पदाधिकारीहरु समेत प्रशिक्षण सञ्चालन गरिएको स्थलहरुमा पुग्नु भएको थियो ।


दुई नगरपालिका र सात गाउँपालिका रहेको सिन्धुलीमा सबै स्थानीय तहका सबै वडामा पुगेर प्रशिक्षण दिने कांग्रेस प्रशिक्षण शाखा, सिन्धुलीको कार्यक्रम थियो । सोहीअनुसार ४२ जना प्रशिक्षक वडास्तरमा परिचालन गरिएको प्रशिक्षण शाखा प्रमुख दीपककुमार घिमिरेले जानकारी दिनुभयो ।  


घ्याङलेख गाउँपालिकाका सबै वडामा सञ्चालन भएको प्रशिक्षण कार्यक्रमको अनुगमन गर्न पुग्नु भएका प्रशिक्षण शाखा प्रमुख घिमिरेकाअनुसार यसअघि फिक्कल गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, मरिण गाउँपालिका र गोलञ्जोर गाउँपालिकाका सबै वडामा आधारभूत प्रशिक्षण भैसकेको छ । बाँकी तीन वटा पालिकामा पनि चाडै गर्ने योजना रहेको उहाँले बताउनुभयो । 


जागरुक क्रियाशील सदस्य, नेपाली कांग्रेसको सुदृढ भविष्य भन्ने नारासहित प्रशिक्षण शाखाले दिएको प्रशिक्षणमा कांग्रेसको स्थापना, इतिहास, कांग्रेस नेतृत्वको सरकार हुँदा जनतासामु गरेका मुख्य काम, कांग्रेसका मुख्य नेताहरूको परिचय, राष्ट्रियता लोकतन्त्र र समाजवाद कांग्रेसको सदस्यता आचरण व्यवहार र संगठन गर्दा ध्यान दिनुपर्ने विषयलगायत पार्टीको नीतिनियमबारे बुझाउने गरिएको छ । 

प्रतिकृया दिनुहोस