कांग्रेस–एमालेको सरकार बन्ने सम्भावना छ : घिमिरे 

सिन्धुली । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सिन्धुली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य श्याम कुमार घिमिरेले कांग्रेस–एमाले मिलेर सरकार बनाउने सम्भावना रहेको बताउनु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अस्थिर चरित्र र वर्तमान सत्ता गठबन्धनबिचको खट्पटका कारण कांग्रेस–एमालेको सरकार बन्ने सम्भावना बढेको बताउनु भएको हो ।   


शनिबार नेपाल प्रेस युनियनकर्मीहरुसँगको भेटघाट कार्यक्रममा उहाँले अहिलेको गठबन्धन लामो समयसम्म नटिक्ने धारणा राख्नुभयो । भन्नुभयो, ‘संविधानका निश्चित एजेण्डाहरु परिर्वतन गरेर अगाडी बढ्नु पर्ने आजको आवश्यकता छ । यसका लागि कांग्रेस र एमाले नमिलिकन सम्भव छैन ।’


निर्वाचन प्रणालीको विषय र संघियताको विषय तत्कालै संशोधन गर्न आवश्यक रहेको उहाँले जिकिर गर्नुभयो । ‘राजनीतिमा अस्थिरता बढेको छ, यसले देशलाई नयाँ दिशामा लैजान सक्दैन । अहिलेको अर्थतन्त्रले संघियता धान्दैन । ११ खर्ब राजश्व नउठ्ने देशमा ७६१ वटा सरकार सञ्चालन गर्न सम्भव छैन, अर्थतन्त्र डुब्ने अवस्था छ,’ उहाँले भन्नुभयो ।  


कांग्रेस र एमाले मिलेर दुई तिहाईको स्थिर सरकार बनाई आवश्यकता अनुरुप संविधान संशोधन गरि देश विकासमा लाग्न जरुरी देखिए पनि यसले दुर्गामी रुपमा काग्रेंसलाई भने फाईदा नहुने उहाँको तर्क छ । दुर्गामी फाइदाको लागि कांग्रेसले सैद्धान्तिक धुर्वीकरण गर्न जरुरी रहेको उहाँको बुझाई छ । 


कम्युनिष्ट र काग्रेंसबिचकोे अन्तर जनतालाई बुझाउन नसक्दा लोकतन्त्रको पर्यावाची बनेको काग्रेंस पछाडी परेकाले वैचारिक धुर्वीकरणलाई नै तिव्रता दिनु उत्तम हुने उहाँको भनाई छ । अर्कोतर्फ बामपन्थी एकताको कुरा चलिरहँदा गैरबामपन्थी एकता गरेर किन नजाने भन्ने कुरामा अहिले बहस चलिरहेपनि यो गर्न सजिलो नभएको उहाँले बताउनुभयो । 

प्रतिकृया दिनुहोस