आज नेविसंघको स्थापना दिवस : सिन्धुलीमा यसरी मनाइयो

विद्यार्थीहरुलाई सरसफाईका सामाग्री वितरण, शैक्षिक सुधारका लागि १७ बुद्धे मागसहित सिन्धुलीका सबै पालिकामा बुझाईयो ज्ञापनपत्र

 

सिन्धुली । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) स्थापना भएको ५५ वर्ष लागेको छ । ५५ औँ स्थापना दिवसको अवसरमा आज सिन्धुलीमा विभिन्न कार्यक्रम भइरहेका छन् ।  


 नेपाल विद्यार्थी संघ, जिल्ला कार्य समितिले कमलामाई नगरपालिका–६ जसेदमारमा रहेको नवज्योती बहिरा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सरसफाईका सामाग्रीहरु वितरण गरेको छ ।


नेविसंघ जिल्ला कार्य समितिका अध्यक्ष भरत विकसहित कार्यसमितिका पदाधिकारीहरुले संयुक्त रुपमा विद्यार्थीहरुको व्यक्तिगत सरसफाईका लागि दाँत माझ्ने ब्रस, मंञ्जन र साबुन विद्यालयका शिक्षक घनकहादुर थापा (गणेश) लाई हस्तान्तरण गरेका थिए । 
यसैगरी, नेविसंघ केन्द्रीय कार्यसमितिको निर्णयअनुसार जिल्लाका ९ वटै स्थानीय तहमा  ज्ञापनपत्र बुझाउने कार्यक्रम भइरहेको नेविसंघ जिल्ला कार्यसमितिका सदस्य समिरविक्रम थापाले जानकारी दिनुभयो । 


उहाँकाअनुसार सबै पालिकामा ज्ञापनपत्र बुझाउन प्रतिनिधि खटाएको छ । उक्त ज्ञापनपत्रमा शिक्षण सिकाइ सुधार गर्न शैक्षिक अवस्थाको अनुगमन, अध्ययन, अनुसन्धान गर्न तथा आधारभुत र माध्यमिक तह सम्मको शिक्षामा देखिएका साझा समस्या समाधान गर्न १७ बुद्धे माग समेटिएका छन् ।

 

लामो इतिहास बोकेको नेपालको सबैभन्दा पुरानो विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ आफैँमा एउटा इतिहास हो । यसको स्थापना यस्तो समयमा भएको थियो, जतिबेला जनताका वाक् स्वतन्त्रता खोसिएको थियो र शान्तिपूर्ण आन्दोलन गर्न र संगठित हुन प्रतिबन्ध लगाइएको थियो ।


प्रतिकूल अवस्थामा मुलुकको भविष्यका कर्णधारलाई लोकतन्त्र र नागरिक अधिकारको लडाइँमा गोलबद्ध गराउने उद्देश्यले नेविसंघको स्थापना विसं २०२७ वैशाख ६ गते भएको हो । तत्कालीन कांग्रेस सभापति बीपी कोइराला र नेता कृष्णप्रसाद भट्टराईको पहलमा वैचारिक हिसाबले बहस र पैरवी गरी लोकतन्त्रको वास्तविक व्याख्या गर्ने  र त्यसलाई सबै जनताका दिमागमा घुसाउने उद्देश्यले यो संगठनको स्थापना गरिएको थियो ।


तत्कालीन पञ्चायती शासकले राजनीतिक गतिविधि बन्द गरेको अवस्थामा आन्दोलनलाई जरैदेखि मजबुत गराउनु पनि नेविसंघ स्थापनाको उद्देश्य थियो । संघको पहिलो नेतृत्वकर्ताको जिम्मेवारी विपिन कोइरालाले पाउनु भएको थियो । वाक् कला भएका विपिनको नेतृत्वमा देशभरका स्कुल र क्याम्पसहरूमा नेविसंघमार्फत लोकतन्त्रको बीउ रोप्ने योजना बीपीको थियो, जुन उद्देश्य सफल भएको छ ।
 

प्रतिकृया दिनुहोस