गौमती बहुमुखी क्याम्पसमा नेविसंघको वर्चस्व

अध्यक्षमा विकास र सचिवमा धिरज विजयी


सिन्धुली । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) गौमती बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का विकास तामाङ विजयी हुनु भएको छ । अनेरास्ववियु र अखिल (क्रान्तिकारी) गठबन्धनका उम्मेदवार मुकेश दाहाललाई पराजित गदैँ उहाँ विजयी हुनु भएको हो ।


शनिबार सम्पन्न निर्वाचनमा तामाङले १२५ मत प्राप्त गर्नुभएको थियो । अनेरास्ववियु र अखिल (क्रान्तिकारी) का उम्मेदवार दाहाललाई उहाँले ५ मतले पराजित गर्नुभयो । दाहालले १२० मत प्राप्त गर्नुभएको थियो ।  यस्तै, स्वतन्त्र उम्मेदवार गोपाल राना मगरले ३० मत प्राप्त गर्नुभयो भने समाजवादीका उम्मेदवार पुष्पा परियारले ६ मत प्राप्त गर्नुभयो ।


सचिव पदमा नेविसंघका धिरज जयसवाल चौधरी १५९ मत प्राप्त गरेर विजयी हुनुभयोे भने अनेरास्ववियु र अखिल (क्रान्तिकारी) गठबन्धनका उम्मेदवार अनिता पाख्रिनले ११६ मत प्राप्त गर्नुभयो । समाजवादीका उम्मेदवारी सर्मिला थापाले ७ मत प्राप्त गर्नुभएको थियो । 


कोषाध्यक्षमा गठबन्धनका उम्मेदवार यशोदा राना मगर विजयी हुनुभयो । मगरले १४६ मत प्राप्त गर्दा नेविसंघकी मनिषा चौलागाईंले १२९ मत प्राप्त गर्नुभयो । त्यसैगरी, सदस्य पदमा दुई जना नेविसंघ र तीन जना गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेविसंघबाट मुकेश तामाङ, शिव बस्नेत  विजयी भएका हुन भने गठबन्धनका शोभा न्यौपाने, सुरेन्द्र चौलागाईं र दिक्षा न्यौपाने विजयी भएका छन् ।


समानुपातिकतर्फ नेविसंघ पहिलो भएको छ । नेविसंघले १२३, अनेरास्ववियुले १०४, अखिल (क्रान्तिकारी) ले ५३ र समाजवादीले १४ मत प्राप्त गरेका छन् ।  ४१० मतदाता रहेको क्याम्पसमा २९९ मत खसेको थियो ।
 

प्रतिकृया दिनुहोस