दशै पनि दशा हुँदोरहेछ।
आमा नपठाउनु यसपालि भाउजुलाई,
पहरे भिरमा कमेरो लिनलाई।
माथि डाँडामा भोट किनेका डोजरहरु
नाच्दै होलान्,
र बन जंगल मास्दै घोडा चढेको सरकारले,
कुनैपनि बेला पहिरो खसाली दिन सक्छ काँध माथि,
र रित्तो बनाई दिन सक्छ घरको आँगन।
बरु पठाई दिनु भाउजुलाई सिंहदरबार,
केही प्रश्नहरु बोकेर।
यदि गणले प्रबेश पाएछ भने गणतन्त्रको गेटबाट भित्र।
हामीले दशै मनाउला देशमा दशा नसम्झी।
आमा तिमिलाई दशैमा सेतो कमेरोले घर पोतेको खुब मन पर्छ।
नकराउनु है सेतो रंग पातलो दलिस् भित्तामा भनेर भाउजूसंग।
आफै कमेरो बनेकी भाउजुले,
चुपचाप मागिरहेछिन हिसाब,
प्रदेशमा बर्षौ देखि हराएको श्रीमानको,
सिंहदरबारसंग सरकारसंग।
आमा भाउजुलाई नपठाउनु पधेरीमा पानी ल्याउन।
पधेँरा पधेँरीले गिज्याउने छन र भन्नेछन
ओई, सुन्तली
सिन्दुर र श्रीमान बिनाको पनि दशै हुन्छ र
धेरै भयो आमाको फाटेको फरिया च्यात्तिएको चोली फेर्न भनी मुग्लानी भएको
तर आजसम्म दशैंको खुसी खोज्न भनी गएको प्रदेशी फर्किएन।
त्यसैले त आमा भाउजुका लागि देश मर्यो दशैं मर्यो सरकार मर्यो।
आमा दैलोमा बसेर के हेरिरहेछौ।
दशै कि छोरा !
दशै त आयो तर छोरा आएन।
नरुनु आमा आखिर नियति नै खोटो भएपछि।
दशै पनि दशा हुँदोरहेछ।
प्रतिकृया दिनुहोस