अवरुद्ध विपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड सञ्चालनमा आयो


सिन्धुली । अवरुद्ध विपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड आइतबार साँझ पाँच बजेबाट सञ्चालनमा आएको छ । सुनकोशी गाउँपालिका–३ कमेरेफाँटको पहिरो पन्छाउनुका साथै वडा नम्बर ७ कानढुंग्रीमा अस्थाई डाइभर्सन सडक बनेपछि सवारी साधन चल्न थालेको हो । 


बाढीपहिरोले टुप्पीडाँडामा रोकिएका बिरामी, शवसहितका एम्बुलेन्स, सयौं सवारी साधन र यात्रु सिन्धुलीमाडीतर्फ फर्किन थालेका जिल्ला प्रहरी कार्यालय सिन्धुली प्रहरीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो । “विपी राजमार्गको चार खण्डमध्ये, खुर्कोट–नेपालथोक, सिन्धुलीमाडी–खुर्कोट र बर्दिवास–सिन्धुलीमाडी खण्ड भर्खरै सुचारु गरिएको छ । नेपालथोक–धुलिखेल खण्ड खुलाउन अझै केही समय लाग्ने देखिन्छ,” उहाँले भन्नुभयो ।


विपी राजमार्गको नेपालथोक–खुर्कोट सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेर त केही ठाउँमा सुनकोसी नदीले कटान गरेर र कतै सडक भासिएर यातायात आवागमन ठप्प भएको थियो । सडक ठप्प हुँदा तीन दिनदेखी सयौँ सवारी साधन र चार सय बढी यात्रु बाटैमा अलपत्र परेका थिए ।  


नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीय सरकार र स्थानीबासीको संयुक्त प्रयासमा अवरुद्ध स्थानहरुमा अस्थायी मर्मत तथा बैकल्पिक व्यवस्थापन गरेर तत्कालका लागि एकतर्फी भने पनि यातायातका साधन सञ्चालन गर्न सकिने बनाएको प्रहरी उपरिक्षक काफ्लेको भनाई छ । 


बिहिबारदेखि परेको अविरल वर्षासँगै रोशी खोला र सुनकोसी नदीमा आएको बाढीपहिरोका कारण सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्री, वडा नम्बर १ को नेपालथोक, आँपघारी, भ्याकुरेखोला, बर्खेखोला, घ्याम्पेखोला लगायतका दर्जनौं स्थानमा बाढी र पहिरोले राजमार्गलाई क्षतविक्षत बनाएको थियो ।


नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरकार र स्थानीयबासीको सहयोगमा नेपालथोक–खुर्कोट सडक खण्डकोे अवरोध हटाएर बिच सडकमा अलपत्र परेका यात्रुलाई सिन्धुलीमाडीतर्फ ल्याउने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माले बताउनुभयो । भन्नुभयो, “हामी खुर्कोटदेखि नेपालथोकसम्मको सडक क्लिएर गरेर त्यहाँ अलपत्र परेका यात्रु तथा सवारीसाधनलाई  सिन्धुलीमाडीतर्फ ल्याउँदै छौँ ।”  


यसैबिच मध्यपहाडी लोकमार्गका दर्जनौं स्थानमा पहिरो गएपछि अवरुद्ध नै छ । मदन भण्डारी राजमार्ग भने अहिले सञ्चालनमा आएको सिन्धुली प्रहरी जनाएको छ । 

प्रतिकृया दिनुहोस