बारीमा बालेको आगो वन हुँदै बस्तीसम्म फैलियो, भयो यस्तो क्षति, आगलागी प्रभावितलाई प्रदान गरियो राहत

 

सिन्धुली । सुनकोसी गाउँपालिका–४ धारापानीका स्थानीय इन्द्रबहादुर श्रेष्ठले वैशाख ९ गते आइतबार दिउँसो बारीको झ्यासझिक्रा जलाउन बालेको आगो फैलिएर नियन्त्रणबाहिर गयो । वन हुँदै बस्तीसम्म आगो सल्कियो । डढेलोले वन मात्रै सखाप बनाएन, गाउँलेको घरगोठसमेत खायो । 


विहानको खाना खाएर खेतिपातिको काममा निस्केका सुनकोसी गाउँपालिका–४ धारापानीका भक्तबहादुर श्रेष्ठको दुई वटा घर, घरभित्र भएका सबै सामान, शौचालयलगायतको जायजेथा जलेर खरानी भयो । देवकुमार श्रेष्ठको घरसहित नगद चार लाख ५० हजार जल्यो । 


आगलागीले सुनकोसी गाउँपालिका–२ का धावा तामाङ, सुनकोसी–३ का रामजी श्रेष्ठ, सुनकोसी–४ का निरबहादुर श्रेष्ठ, दिलबहादुर श्रेष्ठ, रामप्यारी श्रेष्ठ, हरिप्रसाद अधिकारी, लालबहादुर पुर्कुटी, मोहन कुमार श्रेष्ठ, सुनकोसी–५ का रामे तामाङ, विष्णु थापा, रमेश थापा र सुनकोसी–६ का सितादेवी आर्चाय, शिवकुमार सार्की, कृष्णबहादुर कार्की, ढोलबहादुर कार्कीसहित १९ घरपरिवारको घरबास उठ्यो ।


घरबाट सबै जना आ–आफ्नो काममा निस्किएका बेला आगलागी भएकाले मानवीय क्षति भएको छैन । तर, कतिपय आगलागी प्रभावितको बस्ने बास छैन । भक्तबहादुर श्रेष्ठले भन्नुभयो, ‘वैशाख ९ गते इन्द्रबहादुर श्रेष्ठले बारीको झ्यास जलाउन बालेको आगो डढेलो बनेर फैलियो । त्यसले वनहुँदै हाम्रो घरगोठ र पशूचौपाय जले । अहिले बस्ने बास छैन, भएको अन्नपात जल्यो ।’ 


गाउँमा मासिक तलव आउने रोजगारी छैन । किसानको जीवीका चलाउने आधार खेतिपाति र पशूचौपाय नै हुन् । तर, किसानको गोठमा लागेको आगलागीले भैंसी, गोरु, बाख्रा लगायतका पशूचौपाय जल्दा पुरानै लयमा कसरी फर्कने चिन्ता छ । ‘बास त खुल्ला आकाश मुनी नै बसौंला, जीवीका चलाउने एक लाख ५० हजारको भैंसी जलेर मर्यो । अर्को भैंसी किन्न पैसा छैन, कसैले सहयोग गरिदिए हुन्थ्यो,’ किसान  लालबहादुर पुर्कुटीले भन्नुभयो । 


सुनकोसी गाउँपालिका, सिन्धुलीका उपाध्यक्ष कपिल कुमार कोईरालाकाअनुसार यस क्षेत्रमा आगलागीले १९ घर जलेर ध्वस्त छन् । एकहल गोरु, एउटा भैसी र एउटा खसीको जलेर मृत्यु भएको छ । पालिका क्षेत्रमा भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । सुनकोसी–४ मा एक हजार मिटर खानेपानीको पाइप जलेको छ । सुनकोसी–५ को टोर्के र खनियाखर्कको छेउमा आगलागि भइरहेको छ, अहिलेसम्म एक हजार दुई सय मिटर पाइप जलिसकेको छ । सुनकोसी– ६ नेवारभज्याङ मुनीको पाखोमा एक हजार आठ सय मिटर पाइप जलेर खानेपानीको समस्या थपिएको छ । 


आगलागी भएको वन क्षेत्रमा शरीर जलाएका पशूचौपाय र जराचुरुङ्गी छटपटिरहेका भेटिन्छन् । डढेलोले फलाटघारीलगायतका सामुदायीक वन सखाप बनाएको छ । यहाँको जडीबुटी र वन्यजन्तुमा कति असर पर्यो लेखाजोखा छैन । आगलागी भइरहेको क्षेत्रमा सर्तकता अपनाउन पालिका सरकारले आवाह्न गरिरहेको छ । खानेपानीको पाइप जलेको ठाउँमा नयाँ पाइप खरिद गरेर पठाउने काम भइरहेको गापा उपाध्यक्ष कपिल कुमार कोईरालाले बताउनुभयो । 


आगलागी प्रभावित परिवारलाई राहत वितरण
सुनकोसी गाउँपालिका, सिन्धुलीका आगलागी प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । प्लान नेपालको सहयोग तथा गाउँपालिकाको समन्वयमा सिड्स नेपाल, सिन्धुलीले आगलागी प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने सामाग्री वितरण गरेको हो ।


आइतबार सुनकोसी गाउँपालिकाको कार्यालयमा एक औपचारीक कार्यक्रमकाबिच  सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन), गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल, गापा उपाध्यक्ष कपिल कुमार कोईराला र सिड्स नेपाल, सिन्धुलीका अध्यक्ष दीपककुमार घिमिरेले संयुक्त रुपमा १४ जना आगलागी प्रभावित परिवारलाई राहत सामाग्री प्रदान गर्नुभयो ।


राहत वितरण गरिएको स्थलबाट सहयोग सामाग्री बासस्थलसम्म पुर्याउन गाउँपालिकाले गाडीको व्यवस्था गरिदिएको थियो । आगलागीले घरगोठ र जीवीका धान्ने आधार बनेका पशूचौपाय क्षति भएपछि चिन्तामा रहेका आगलागी प्रभावित राहत सामाग्री प्राप्त भएपछि खुसि भएका थिए । अब सरकारले घर बनाइदिए सहज हुने आगलागी प्रभावित परिवारको भनाई थियो ।  


आगलागीबाट प्रभावित परिवारका लागि राहत सामाग्री सहयोग कार्यक्रमलाई सम्बोधन गदै सांसद लेखनाथ दाहाल (राजन) ले मानवद्धारा सिर्जीत विपद् नियन्त्रणका लागि मानवमै जागरण ल्याउने किसिमका कार्यक्रमहरु सञ्चालन गर्न पालिका र साझेदार संघसंस्थालाई आग्रह गर्नुभयो । भन्नुभयो, ‘आगलागी, डढेलो नियन्त्रणका लागि आमजनतालाई सचेत गराउनु पर्यो ।’


उहाँले जिल्लाको समग्र विकास र विपद्मा गैरसरकारी संघसंस्थाले गरेको कामको प्रसंशासमेत गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस