एकल संघर्षबाट आत्मनिर्भरताः विनिता श्रेष्ठको प्रेरणादायी उद्यम यात्रा


सिन्धुली । विनिता श्रेष्ठ, सिन्धुलीको कमलामाई नगरपालिका–६ गैरीबजारमा अवस्थित ‘क्रिस्टल माला तथा पोते हाउस’ की प्रोपाइटर हुनुहुन्छ । श्रीमानको असामयिक निधनपछि जीवनका अनेक चुनौतीहरू सामना गर्दै उहाँले यो व्यवसाय सुरु गर्नुभएको हो ।

एकल महिलाका रूपमा जीवनका कठिन संघर्षहरू पार गर्दै उहाँले आफूलाई उद्यमीको रुपमा स्थापित गर्नुभएको छ । यस व्यवसायले उहाँलाई आर्थिक रूपमा आत्मनिर्भर बनाएको त छ नै, श्रीमान गुमाएको पीडालाई पनि केही हदसम्म भुलाउने माध्यम बनेको छ ।

विनितालाई व्यवसायले घरायसी खर्चदेखि छोराछोरीको शिक्षा खर्च समेत जुटाउन सहयोग गरेको छ । उहाँ ग्राहकहरूको मागअनुसार विभिन्न डिजाइनका सुन, ओरिजिनल मोती तथा पञ्चधातुका गहना बनाउनुहुन्छ । यस प्रकारका उद्यम, व्यवसाय सिन्धुलीमा पहिलो भएकोले यसले धेरैको ध्यान तानेको छ । यहाँ पाइने विभिन्न डिजाइनका हस्तनिर्मित ब्रासलेट, पोते मालाहरू र  बुकेहरूले ग्राहकहरूको मन जित्न सफल छन् । साथै, डेलिभरी सेवाले ग्राहकहरूलाई थप सुविधा प्रदान गरेको छ ।

विनिताको यो व्यवसाय केवल व्यक्तिगत उन्नति मात्र होइन, अन्य महिलाहरूका लागि पनि रोजगारीको माध्यम बनेको छ । हाल उहाँको पसलमा पाँच जना महिलाहरूले रोजगारी पाएका छन् । पीडित महिलाहरू रोजगारको खोजीमा उहाँकहाँ आउँछन् र उहाँले सकेसम्म तिनलाई अवसर प्रदान गर्नुहुन्छ । उहाँको व्यवसायमा कार्यरत एक जना महिला उहाँकै सहायकको रूपमा काम गदँैआउनु भएको छ । उद्यमका उत्पादनहरूको माग बढ्दै गएकाले व्यवसायलाई अझ विस्तार गर्ने उहाँको योजना छ ।

’क्रिस्टल माला तथा पोते हाउस’ मा ग्राहकहरूको रोजाईअनुसारका गहना निर्माण गरिन्छ । जस्तै ः– सुनजस्तो देखिने पञ्चधातुका गहना, ओरिजिनल मोती, हिरामोतीबाट बनेका माला, मंगलसुत्र, नौगेडी, छड्के तिलहरी लगायत विभिन्न डिजाइनका इयरिङहरू ।

विनिताको व्यवसाय सफल हुँदै गएपछि जिल्लाका अन्य व्यवसायीहरू पनि यसप्रति आकर्षित भएका छन् । उहाँको संघर्ष, साहस र आत्मनिर्भरताको यो यात्रा अन्य महिलाहरूका लागि प्रेरणादायी छ ।  ’क्रिस्टल माला तथा पोते हाउस’ को निरन्तर प्रगति र विस्तारले उहाँलाई मात्र नभई अन्य धेरैलाई पनि रोजगारीका अवसर दिन सक्नेछ ।

 

प्रतिकृया दिनुहोस