कांग्रेसले सुरु ग¥यो ‘मिसन रोजगारी’ अभियान

 


सिन्धुली । स्टार्टअप व्यवसायलाई प्रवद्र्धन गर्ने गरी केही साताअघि कांग्रेसले आफ्नो मुख्यालयमै स्टलसहितको मेला आयोजना गरेको थियो । केही महिनाअघि देखि कांग्रेसले नीति बहस पनि चलाउँदै आएको छ । आइतबारबाट कांग्रेसले अर्को अभियान सुरु गरेको छ, ‘मिसन रोजगारी’ । बढ्दो बेरोजगारीका कारण देश छाड्ने युवा बढिरहेका बेला कांग्रेसले रोजगारीको बहस थाल्न खोजेको छ ।

 

अभियानकै रूपमा एक वर्षसम्म चलाउन खोजिएको बहस दुई चरणमा सम्पन्न गरिने नेपाली कांग्रेसले जनाएको छ । मिसन रोजगारीको क्रममा रोजगारीका क्षेत्र र सम्भावनामाथि सबै सेक्टरसँग बहस चलाउने कांग्रेसको योजना छ । यसले समस्याको पहिचान र समाधानको उपाय खोजी गर्न सहज हुने नेपाली कांग्रेसका महामन्त्री गगन थापाको भनाइ छ । महामन्त्री थापाका अनुसार राजनीतिक छलफल, संसद् वा अन्य स्थानमा रोजगारकेन्द्रित बहस हुन नसकेका बेला कांग्रेसले मिसन रोजगारी अभियान सुरु गरेको हो ।


आइतबार अभियान सुरु गर्दै महामन्त्री थापाले विमर्शको केन्द्रमा रोजगारी बनाउन अभियान सुरु गरिएको जानकारी गराउनुभयो । भन्नुभयो, ‘रोजगारी राजनीतिक मुद्दा बनेको न प्रतिस्पर्धाको मुद्दा ।’ मिसन रोजागारी अभियानमा प्रारम्भमा विभिन्न क्षेत्रसँग प्रारम्भमा संवाद गरिने भएको छ । फरक–फरक क्षेत्रका व्यक्तिहरूसँग संवाद हुँदा त्यसबाट समस्याको पहिचान हुने कांग्रेसले जनाएको छ । साथै, रोजगारी सिर्जना गर्न सकिने माध्यम र समस्याका बारेमा पार्टीकै तर्फबाट अध्ययन र अनुसन्धान गरिने कांग्रेसले जानकारी गराएको छ । संवादका लागि छुट्याइएका विषयमा रोजगारीको अर्थ राजनीति, वैश्विक परिदृश्य, उत्पादकत्वको समस्या, सीपको समस्या, व्यावसायिक सुरक्षा, श्रम र रोजगारीको भविष्य लगायत छन् ।

 

पार्टीभित्रबाट नै रोजगारीका सन्दर्भमा अध्ययन अनुसन्धान गर्न समूह बनाउने कांग्रेसले जनाएको छ । आन्तरिक समूहमा अनुसन्धानकर्ता, विज्ञ, इन्टर्न, पार्टीका विभिन्न विभाग र संयन्त्र सम्मिलित हुनेछन् । अभियानका क्रममा रोजगारी सिर्जना गर्न भएका समस्या निराकरणका लागि स्वतन्त्र अनुसन्धानकर्ता, विश्वविद्यालय, थिंक ट्यांक, अनुसन्धान संस्था, सरकारका संरचना, सरकारी–गैरसरकारी संस्थासँग सहकार्य कांग्रेसले गर्नेछ । विमर्शको केन्द्रमा रोजगारी हुँदा श्रम र रोजगारका विषयमा आइरहेका गलत भाष्यलाई चिर्न सहयोग पुग्ने कांग्रेसले जनाएको छ । सरकारले गर्नुपर्ने कार्यका साथै नीतिगत समस्याको पहिचान पनि ‘मिसन रोजगारी’को उपलब्धी हुने कांग्रेस जनाएको छ ।

 

महामन्त्री थापाले नेपालमा रोजगारी छैन भनिरहँदा किन प्राप्त हुन सकिरहेको छैन बारे अध्ययन नभएको उहाँले सुनाउनुभयो । रोजगारी सिर्जना हुने कतिपय क्षेत्रमा विदेशी कामदारले आएको तर हामीकहाँ दक्षताको अभाव रहेको पनि उहाँले बताउनुभयो ।तल्लोदेखि माथिल्लो तहसम्म विदेशीले रोजगारीमा हुने तर नेपाली युवाले किन रोजगारी पाउन नसकिरहेको अवस्थाबारे अध्ययन गरिने कांग्रेसले जनाएको छ ।

 

विषयगत छलफलका लागि फरक फरक क्षेत्रका व्यक्तिहरू आमन्त्रण गरेर बहस गरिएको थियो । अर्थविद् विश्व पौडेल, श्रम मन्त्रालयका पूर्वसचिव केवल भण्डारी, अनुसन्धानकर्ता एवं प्राध्यापक डा. कुशुम शाक्य सीटीईभीटीका सदस्यसचिव महेश भट्टराई, व्यवसायी नीरञ्जन श्रेष्ठलगायतले रोजगारीमा रहेका समस्याबारे जानकारी गराएका थिए ।

 

नेपालमा प्रत्येक वर्ष ५ लाखलाई रोजगारी सिर्जना गर्नुपर्छ भनिँदै आए पनि एकिन संख्या भने नभएको कार्यक्रममा जानकारी गराइएको थियो । रोजगार प्राप्त व्यक्तिहरूमा औसत आम्दानी १७ हजार ८०९ रुपैयाँ तथ्यांक प्रस्तुत गरिएको थियो । नेपाल छाड्नुको प्रमुख कारण रोजगारी नपाउनुुसँगै प्राप्त पारिश्रमिक कमि हुनु पनि कारण रहेको महामन्त्री थापाले जानकारी गराउनुभयो ।

 

नेपालमा उत्पादित वस्तुको निर्यात बढ्दा कामदार पनि विदेशीको भर पर्नु परेको उदाहरण समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो । चाँदीबाट बनेका सामग्रीको निर्यात बढ्दा समेत कामदार नेपाली नहुने अवस्था रहेको छलफलमा बताइएको थियो । रोजगारी नपाएर विदेशिनुमा दक्ष जनशक्ति अभाव रहेको समस्या बहसमा सुनाइएको थियो । मिसन रोजगारी मार्फत विश्वविद्यालय, सरकार र उद्योगलाई जोडिने कांग्रेसले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस