बागमती प्रदेश स्तरीय महिला कृषि उद्यम मेला सिन्धुलीमा हुने
तीन दिनसम्म सञ्चालन हुने मेलाको औपचारिक उद्घाटन फागुन २३ मा

सिन्धुली । बागमती प्रदेश स्तरीय महिला कृषि उद्यम मेला सिन्धुलीमा पहिलो पटक हुने भएको छ । महिला कृषि उद्यम मेला आयोजक समितिको आयोजनामा सिन्धुलीमाडीको खुला मञ्चमा हुने भएको हो ।
तीन दिनसम्म सञ्चालन हुने मेलाको औपचारिक उद्घाटन फागुन २३ गते गरिने मेला आयोजक समितिका सदस्य सचिव विमला थापाले जानकारी दिनुभयो । उहाँकाअनुसार ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा आयोजना गरिन लागेको यस मेलाको उद्देश्य उद्यमशीलतालाई प्रोत्साहन गर्ने, नवप्रवर्तनलाई उत्साहित गराउने तथा स्थानीय स्रोतसाधनको स्थानीय जनशक्तिबाटै उपयोग गराउनु रहेको छ ।
सिन्धुलीमाढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मेला व्यवस्थापन समितिका संयोजक विमला कुमारी भुजेलले महिला उद्यमीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न यस मेलाले थप प्रेरित गर्ने बताउनुभयो । उद्यम मेलाले महिलाहरूलाई हरेक क्षेत्रमा सशक्त बनाउन टेवा पुग्ने उहाँको भनाई छ । मेला आयोजक समितिका सदस्य सिता पाण्डेकाअनुसार मेलामा कम्तिमा ३६ वटा उद्यमसँग सम्बन्धित स्टलहरु रहनेछन्, जसमा ५० जनाभन्दा बढी महिला उद्यमीहरूले उत्पादन गरेका कृषिजन्य तथा हस्तकला सामग्रीको प्रदर्शनी तथा बिक्री गरिनेछ ।
साथै, योगाभ्यास, बालबालिकाहरुका लागि मनोरञ्जनात्मक गतिविधिहरु, विभिन्न प्रतियोगिता, विद्यार्थीहरुको कृषिसँग सम्बन्धित चित्रकला प्रतियोगिता, रैथाने खाना, प्रविधि र सीपको प्रस्तुती, नवप्रवर्तन प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, महिलालाई उद्यममा अवसर र चुनौती विषक छलफल, महिला नेतृत्व र उद्यमशीलता सम्बन्धी विभिन्न कार्यक्रमसमेत मेलाका मुख्य आकर्षण हुनेछन् ।
आयोजक समितिले मेलामा तीन दिनसम्म १० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरेको छ । उद्यमी, किसान, व्यवसायी, विद्यार्थी, सरकारी तथा गैरसरकारी प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहने बताइएको छ । सिमित बजेट र स्थानीय श्रोतमा पनि महत्वपूर्ण कार्य गर्न सकिन्छ भन्ने कुराको उदाहरण मेलाले प्रस्तुत गर्ने आयोजक समितिका अर्का सदस्य विमला श्रेष्ठले बताउनुभयो । उहाँकाअनुसार मेलाको अनुमानित लागत १० लाख रुपैयाँ रहेको छ ।
जिल्ला समन्वय समिती उपप्रमुख शान्ता कार्कीले महिला उद्यमी मेलाले स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै महिलाहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । साथै, मेलाले महिला उद्यमीहरूको क्षमता अभिवृद्धि गर्ने, नवीन उद्यमशीलतालाई प्रोत्साहन गर्ने र स्थानीय स्रोत साधनको उचित उपयोग गर्दै रोजगारी सिर्जना गर्न मद्दत पुग्ने उहाँको धारणा छ ।
उपप्रमुख कार्कीले मेलाले कृषि, हस्तकला, स्थानीय खाद्य उत्पादन र अन्य उद्यमशील गतिविधिहरूलाई बजारीकरण गर्न सहयोग पुग्ने उल्लेख गर्दै महिलाहरूको आर्थिक सशक्तिकरणका लागि यस्ता मेलाहरुको आवश्यक रहेको औल्याउनुभयो । उहाँले जिल्लामा पहिलो पटक हुन गइरहेको प्रदेश स्तरीय महिला कृषि उद्यम मेलालाई सफल बनाउन सम्बन्धित निकायहरुलाई सहयोग गर्न अनुरोधसमेत गर्नुभयो ।
बागमती प्रदेश सरकार, स्थानीय सरकार, कृषि विकास कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय, सिड्स नेपाल, मुना कृषि लिमिटेडलगायत विभिन्न सरकारी–गैरसरकारी संघसंस्थाहरुको सहयोग तथा सौगात लद्यु उद्यम सहकारी संस्था, सिन्धुलीको अगुवाईमा संचालन हुने मेलामा जिल्लाका नौ वटै पालिकाका प्रमुख तथा उद्यमीहरुदेखि बागमती प्रदेशका मन्त्रीहरु र बागमती प्रदेशका १३ वटै जिल्लाका महिला उद्यमीहरुको सहभागीता रहने आयोजकले जनाएको छ । आयोजकले मेलाको तयारी भव्य रुपमा गरिरहेको छ ।
प्रतिकृया दिनुहोस