लैङ्गिक हिंसाविरुद्ध सिन्धुलीका पालिकाहरुको अभियान : यस्ता छन्, १६ दिने कार्यक्रम
सिन्धुली । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान (२५ नोभम्बर देखि १० डिसेम्बर) अन्तर्गतका कार्यक्रम सोमबारदेखि सुरु भएको छ । ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ सिन्धुलीमा पनि दिवस मनाउन सुरु गरिएको हो ।
लैङ्गिक हिंसा अन्त्य गरी हिंसामुक्त समाज निर्माण गर्न जिल्लाका ९ वटै पालिकाहरुले विभिन्न कार्यक्रम गर्ने निर्णय गरेर अभियानलाई तिव्रता दिन थालेका छन् । जिल्लाका सबै पालिकाहरुले वडास्तरीय विभिन्न कार्यक्रममार्फत सचेतना फैलाउदैँ सामाजिक, आर्थिक सशक्तिकरणमा जोड दिने बताएका छन् ।
कमलामाई नगरपालिकाले सिन्धुलीमाडीमा ¥याली तथा कोणसभा कार्यक्रमको आयोजना गरेर लैङ्गिक हिंसाविरुद्धको अभियान शुभारम्भ गरेको छ । नगर उपप्रमुख मञ्जु देवकोटाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले हिंसाविरुद्धको अभियानमा चर्को आवाजमा भाषण गर्नेहरुले व्यवहारमा झन बढी हिंसा गर्ने गरेको तितो यथार्थको चित्रण गर्नुभयो । भन्नुभयो, “मानव अधिकार रक्षाका लागि कोहीबाट कसैलाई पनि हिंसा गरिनु हुँदैन । भाषणमाभन्दा पनि व्यवहारमा हिंसा नगरौँ । हिंसामुक्त समाज निर्माणमा जुटौँ ।”
जिल्ला समन्वय समिति उपप्रमुख शान्ता कार्कीले सबै खाले हिंसा अन्त्यका वडास्तरदेखिनै अभियानलाई सार्थक बनाउन स्थानीय पालिकाहरुलाई अपिल गर्नुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णमणी फुँयालले हिंसाको अन्त्य नाराले नभई मनैदेखि अन्त्य गर्न सकेमा अभियानको औचित्य हुने धारणा राख्नुभयो ।
नेपाल महिला संघ, सिन्धुली अध्यक्ष गंगा दाहालले समाजमा मानवता र निस्वार्थ सहयोगको भावना तथा मानवियता हराउँदै गएको र हिंसा मौलाएको उल्लेख गदँै कसैले पनि विभेदमा परेको महसुस नगर्ने गरी सामाजिक व्यवहार गर्न सबैले सक्नु पर्नेमा जोड दिनुभयो ।
यसैगरी, जिल्लाको दुधौली नगरपालिका, हरिहरपुरगढी गाउँपालिका, मरिण गाउँपालिका, फिक्कल गाउँपालिका, गोलञ्जोर गाउँपालिका, सुनकोशी गाउँपालिका र घ्याङलेख गाउँपालिकाले हिंसाविरुद्धका विभिन्न कार्यक्रम सञ्चालनलाई तिव्रता दिएका छन् ।
दुधौली नगरपालिकाले आज नगरभित्र लैङ्गिक हिंसाको अवस्था, हिंसाविरुद्धको अभियान र न्युनिकरणका लागि सरोकारवालाहरुको भुमिका विषक अन्तरक्रिया गरेको छ । यो र यस्ता खालका कार्यक्रमहरु नगरभित्रका सबै वडास्तरमा संचालन गर्ने र महिला सशक्तिकरणमा जोड दिने पालिकाले कार्यक्रम तय गरेको लैङ्गिक समानता तथा सामाजिक समावेशी उपशाखा प्रमुख नारायण भट्टराई जानकारी दिनुभयो ।
सुनकोशी गाउँपालिकाले महिला अधिकारी सम्बन्धि कानुनी अधिकार र सशक्तिकरणका कार्यक्रमहरु वडास्तरमा पुगेर संचालन गर्न सुरु गरिएको पालिका प्रमुख दिपा बोहोरा दाहालले बताउनुभयो । अन्य पालिकाहरुले पनि सचेतना र सशक्तिकरणका कार्यक्रमलाई जोड दिएका छन् ।
जिल्लाका सबै पालिका र संघसंस्थाहरुले संचालन गरेका हिंसाविरुद्धका अभियानले लैङ्गिक समानता र हिंसामुक्त समाज निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ ।
नेपाल सरकारले हरेक वर्ष नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने र नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।
सन् १९८० देखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसाविरुद्धको दिवस मनाउँदै आए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसंघले यसको अनुमोदन गरेपछि महिलामाथि हुने हिंसाविरुद्धको विभिन्न अभियान सुरु भएको इतिहास छ ।
नेपालको मन्त्रिपरिषद बैठकले २०७५ साल मङ्सिर २ गते नेपालमा सामाजिक सचेतनासहित लैङ्गिक हिंसाविरुद्घको अभियान सञ्चालन गर्न सङ्घीय सरकारका मन्त्रालय तथा निकायहरु, सात वटै प्रदेश सरकार, ७७ वटै जिल्ला समन्वय समिति, ७५३ वटै स्थानीय तह एवम् त्यसका वडाहरु सरोकारवाला निकायहरु, सामाजिक संघसंस्थाहरुलाई आह्वान गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सबै निकायहरुले विभिन्न कार्यक्रम आयोजना गरी लैङ्गिक हिंसाविरुद्वको १६ दिने अभियान सञ्चालन गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस