संघले प्रदेशलाई आफ्नो गतिमा काम गर्न कानून नै बनाइदिएन : मन्त्री काफ्ले


सिन्धुली । बागमती प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रदेशले अपेक्षित गतिको काम गर्न नसकेको विषयमा संघको कानुनी अभावलाई जिम्मेवार ठहराउनु भएको छ । 


सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नं. ८ बाहुनतिल्पुङमा बुधबार नवनिर्मित प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेशले जुन गतिमा काम गर्नु पथ्र्यो त्यो गर्न नसक्नुको कारण कानून अभाव रहेको बताउनुभयो । भन्नुभयो, “संघले प्रदेशलाई आफ्नो गतिमा काम गर्न कानून नै बनाइदिएन ।”


महामन्त्री गगन थापाको ’ल्यापटपवाला भाषण’ बारे बोल्दै उहाँले नेतृत्वमा सपना देख्ने क्षमताको आवश्यकता रहेको औंल्याउनुभयो । कांग्रेस महामन्त्री गगन थापाको अनाहकमा खिल्ली उडाइएको उहाँको टिप्पणी थियो ।


उपनिर्वाचनको प्रचारका क्रममा कीर्तिपुरमा आयोजित चुनावीसमामा महामन्त्री थापाले युवाहरूले प्रविधिको प्रयोग गरेर लाखौँ कमाउनसक्ने धारणा व्यक्त गरेपछि उहाँको आलोचना भएको थियो । 


बीपी कोइराला र किसुनजीले देखेका सपना स्मरण गर्दै मन्त्री काफ्लेले भन्नुभयो, “अहिलेका नेताहरूले पनि त्यस्तै दृष्टिकोण राख्नुपर्छ । गगन थापालाई अनावश्यक ट्रोल गर्ने काम भयो ।’ 


वर्तमान प्रतिपक्षको भूमिकामा प्रश्न उठाउँदै उहाँले प्रतिपक्षको आवाज लोकतन्त्रलाई बलियो बनाउन हुनुपर्नेमा त्यसो नभए अहिले जनतालाई भ्रमित गरिरहेको धारणा राख्नुभयो ।


उहाँले देशको आर्थिक सुधारमा रामशरण महतको योगदानको प्रशंसा गर्नुभयो । उहाँको आर्थिक नीतिले मुलुकको ढुकुटी बलियो बनाएको सत्यलाई अस्वीकार गर्न नसकिने उहाँको भनाई थियो । 


उहाँले तीनपाटन गाउँपालिकाको जौखोरीया–चकमकेको सडक निर्माणका लागि बागमती प्रदेश सरकारले आर्थिक सहयोग गर्ने आश्वासन दिनुभएको छ ।  

प्रतिकृया दिनुहोस