गोलञ्जोरको घोक्सिला खोलामा पक्की पुल निर्माण सुरु

 

सिन्धुली । गोलञ्जोर गाउँपालिका–६ र ७ लाई जोड्न घोक्सिला खोलामा पक्की पुल निर्माण कार्य सुरु भएको छ ।

 
आज (सोमबार) आयोजित एक कार्यक्रमकाबिच गोलञ्जोर गाउँपालिका अध्यक्ष शंकर राज बराल र उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले संयुक्त रुपमा पुलको शिलान्यास गर्नुभयो ।


बारा–घोक्सिला–छेत्पा ग्रामीण सडकअन्तर्गत पर्ने घोक्सिला खोलामा निर्माण गरिन लागिएको पुलको शिलान्यास गर्नुहुँदै उहाँहरूले तोकिएको समयभित्रै गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो ।


पुल निर्माणको जिम्मेवारी लिएको श्रृजना निर्माण सेवाका प्रमुख उद्धव दाहालले सम्झौताअनुसार तोकिएको समयमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 


यो पुल बनेपछि गोलञ्जोर गाउँपालिकाको वडा नम्बर ६ र ७ का स्थानीय बासिन्दालाई आवात–जावतमा विशेषगरी सहजता हुने छ । 


पुल निर्माणका लागि बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले ११ करोड स्विकृत गरेको थियो । श्री श्रृजना निर्माण सेवा, सिन्धुलीले ९ करोड ४५ लाख ३७ हजार रुपैयाँ लागतमा पुल निर्माण कार्य अघि बढाएको छ । 

 ७० मिटर लामो पुल निर्माण गर्ने जिम्मेवारी पाएको निर्माण कम्पनीले २०८२ मंसिर १३ गतेसम्म निर्माण कार्य सम्पन्न हुने लक्ष्य राखेको छ । २०८१ जेठ १४ गते पुल निर्माण कार्यका लागि सम्झौता गरेको थियो । 
 

प्रतिकृया दिनुहोस