सत्ता समीकरण २०८४ को चुनावसम्म कायम रहन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता समीकरण २०८४ चुनावसम्म कायम रहने बताउनुभएको छ ।
एमालेको काठमाडौं, ललितपुर, भक्तपुर उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय र जनसङ्गठनहरुद्वारा शुक्रबार ‘अराजकता, सामाजिक विद्वेष र विकृतिका विरुद्ध लोकतन्त्र, सामाजिक सद्भाव र राष्ट्रिय एकता’ को नारासहित संयुक्तरुपमा आयोजना गरिएको जागरण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो । एमाले सरकारमा भएरै पनि जनसभा किन गरिरहेको छ भन्ने जिज्ञासा उठ्न सक्ने भन्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले आफू आगामी २०८३ साल असारसम्म प्रधानमन्त्री पदको जिम्मेवारीमा रहने पनि उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “२०८४ साल मङ्सिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ । सबैले बुझे हुन्छ । कान खोलेर सुने हुन्छ । मेरो अवधि, म अब २०८३ साल असारसम्म प्रधानमन्त्री रहन्छु । त्यसपछि म प्रधानमन्त्री छोडेर शेरबहादुरजीलाई जिम्मा लाउँछु ।”
प्रधानमन्त्री ओलीले त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुहुने समेत बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “उहाँले प्रधानमन्त्रित्व १८ महिना र मैले अहिले १८ महिना चलाउँछु । यसमा कुनै भ्रम नराखे हुन्छ । त्यसकारण म साथीहरुलाई भन्न चाहन्छु, त्यस्ता भ्रममा नपर्नुस् । यस्ता भ्रममा आमजनतालाई पर्न नदिनुस् । यस्ता भ्रमहरुको खण्डन गर्नुस् । ढुक्कले अगाडि बढ्नुस् ।”
सरकार निर्माणका बेलादेखि विभिन्न भ्रमहरु छरिएको भन्नुहुँदै उहाँले भन्नुभयो, “सरकार बन्दै, बन्दैन त्यो पनि बन्यो । विश्वासको मत पाउँदै, पाउँदैन त्यो पनि पायो । दसैँ देख्दैन, देख्ने मात्र होइन, दसैँ मनायो । तिहार देख्दैन, त्यो पनि देख्यो । कात्तिक कट्दैन, त्यो पनि कट्यो । मङ्सिर देख्दैन, त्यो पनि कट्यो । अब भाका राख्दैछन्, फेब्रुअरीको । फेब्रुअरी भनेको माघ, फागुनको कुरा म भन्न चाहन्छु ८४ साल मङ्सिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ ।”
प्रधानमन्त्री ओलीले एमाले र कांग्रेस प्रतिस्पर्धी पार्टी भएको तर देशलाई अप्ठ्यारोमा पार्न खोजिएका कारण प्रतिस्पर्धाभन्दा एकता महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अवश्य नेकपा (एमाले) र नेपाली कांग्रेस प्रतिस्पर्धी पार्टी पनि हुन् तर अहिले किन एक ठाउँमा छन् ? अहिले यसकारण कि, हामीबिचको प्रतिस्पर्धाभन्दा पनि महत्वपूर्ण कुरा हाम्रो एकता हो । देशलाई अप्ठ्यारोमा पार्न खेजिएको छ । अलोकतान्त्रिक बाटोबाट सिर्जना अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोजिएको छ । नेपाली जनताले ठूलो बलिदान गरेर ल्याएको लोकतन्त्र, जनताको सर्वोच्चतालाई, सार्वभौम जनताको हैसियतलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको छ ।”
एमाले अध्यक्ष र प्रधानमन्त्रीको हैसियतले देशलाई सुशासन दिनुपर्ने दायित्व रहेको बताउनुभयो । राष्ट्रिय एकतालाई खल्बलाउने, साम्प्रदायिक विद्वेष मच्चाउने, अर्थतन्त्र ध्वस्त बनाउने, चरित्रहत्या गर्ने जस्ता दुष्प्रयासहरु भएका कारण अराजकताविरुद्ध जागरण सभाको आवश्यकता परेको उहाँको भनाइ छ ।
चीन भ्रमणका विषयमा समेत बाहिर आएका हल्लाबारे बोल्नुहुँदै उहाँले नेपालले सबै छिमेकीलाई पारस्पारिक लाभ हुने गरी सम्बन्ध राख्ने बताउनुभयो।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “पहिले कता जानुपर्ने, कता गयो ? धर्मशास्त्रमा लेखेको छ कि ? कानुनमा लेखेको छ कि ? संयुक्त राष्ट्र सङ्घको बडापत्रमा लेखेको छ ? हामी सबै छिमेकीलाई पारस्पारिक लाभ हुने गरी सम्बन्ध राख्छौं । छैन कसैसँग शत्रुता, सबैसँग हाम्रो मित्रता । हामी युद्ध होइन, शान्ति चाहन्छौं, मारामारको पक्षमा होइन, मेलपमलापको पक्षमा छौं ।”
एमाले महासचिव शंकर पोखरेलले विकास र समृद्धिको आकाङ्क्षा पुरा गर्न निर्णायक राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताउनुभयो ।महासचिव पोखरेलले भन्नुभयो, “आज हाम्रो मुलुक किन बनेन भन्दा राजनीतिक अस्थिरताका कारण मुलुक बन्न सकेन । बहुदलीय स्थापनाका ३५ वर्षमा हामीले २८ भन्दा बढी प्रधानमन्त्री बेहोरिसकेका छौं । एउटा प्रधानमन्त्रीले औसतमा सवा वर्ष पनि काम गर्न पाउँदैन ।” उहाँले छिमेकी मुलुक भारत र चीनमा स्थीर नेतृत्वका कारण विकास सम्भव भएको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “चीनमा के छ ? चीनमा कार्यकारी राष्ट्रपति हुने गर्दछ, त्यहाँ सी चिनफिङ राष्ट्रपति हुनुहुन्छ । लगातार तीन कार्यकाल चीनको नेतृत्व गर्दै हुनुहुन्छ । अर्कोतिर हामी भारतमा हेरौं, भारत विकासको बाटोमा अगाडि बढीरहेको छ । भारतमा कार्यकारी प्रधानमन्त्री हुने गर्दछ, नरेन्द्र मोदी प्रधानमन्त्री हुनुहुन्छ, लगातार तेस्रो कार्यकालको नेतृत्व गर्दै हुनुहुन्छ ।”
नेपालमा भने एउटा प्रधानमन्त्रीले सवा वर्ष पनि काम गर्न नपाउने अवस्था रहेको उहाँले बताउनुभयो । यसका लागि बलियो निर्णायक राष्ट्रिय शक्तिको आवश्यकता रहेको उहाँको भनाइ छ ।
प्रतिकृया दिनुहोस