नेतृत्वमा महिलाः समस्या, चुनौती र समाधान विषयक सिन्धुलीमा बहस

 

सिन्धुली । नेतृत्वमा महिलाः समस्या, चुनौती र समाधानका लागि जिल्ला समन्वय समितिको भूमिका विषयक बहस तथा अन्तक्र्रिया कार्यक्रम बुधबार सिन्धुलीमाडीमा सम्पन्न भएको छ । क्रियाशील पत्रकार महिला जिल्ला शाखा, सिन्धुलीको सहकार्यमा जिल्ला समन्वय समिति, सिन्धुलीले कार्यक्रमको आयोजना गरेको हो । 


जिल्ला समन्वय समितिका प्रमुख कारसाङ लामाको अध्यक्षमा सञ्चालन भएको कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै बागमती प्रदेश सभा सदस्य शुष्पा भुजेलले नेतृत्वमा पुगेका महिलाले निरासा बाढ्ने, सधैँ समस्या मात्रै पोख्ने र प्रश्न गरिरहने प्रवृत्तिको अन्त्य गर्न सुल्झाउनुभयो । ‘लिडरले निरासा बाढ्ने होइन, सधै समस्या मात्रै पोख्ने होइन, आशा बाढ्ने हो,’ उहाँले भन्नुभया “प्रश्न मात्रै गरिरहने, समस्या र गुनासोका चाङ मात्रै थुपार्ने लिडर हुन सक्दैन ।”  


नेतृत्वमा दृढ विश्वास र संकल्प भएमा मात्र सफलता मिल्ने उहाँको भनाई थियो । उहाँले सार्वजनिक पदधारण गरेको व्यक्ति दल विशेषको नहुने बताउँदै सार्वजनिक दायित्व निर्वाह गर्न समेत आग्रह गर्नुभयो ।


जिल्ला समन्वय समिति उपप्रमुख शान्ता कार्कीले जिल्लाका महिलाको समस्यालाई सदनसम्म पु¥याएर समाधान गर्न जिल्ला समन्वय समितिले पुलको काम गरिरहेको बताउनुभयो । 


कमलामाई नगरपालिका उपप्रमुख मन्जु देवकोटाले कमलामाईले हालसम्म नगरको बजेट लैंगिकमैत्री नै विनियोजन गर्दै आएको दाबी गर्नुभयो । उहाँले महिला, बालबालिका र ज्येष्ठ नागरिकका लागि नगर विशेष कार्यक्रम ल्याइएकोसमेत बताउनुभयो । 


कार्यक्रममा बोल्दै विभिन्न पालिकाका कार्यपालिका सदस्यहरुले पुरुषहरु नेतृत्वमा रहँदा सोंचेजस्तो गरि महिला र बालबालिकाको पक्षमा काम गर्न गाह्रो हुने गरेको गुनासो गरेका थिए । 


नेपाल महिला संघ, सिन्धुली अध्यक्ष गंगा दाहालले अब महिलाका सवालमा छलफल गर्दा मुद्दा विशेषमा छलफल गरेर निश्कर्षसहित काम गर्ने बेला भएको बताउनुभयो । उहाँले साझा मुद्दामा एक ठाउँमा उभिन आवश्यक रहेको धारणा राख्नुभयो ।


अखिन नेपाल महिला संघ, सिन्धुली अध्यक्ष पार्वती भट्राईले अझैसम्म महिलालाई नेतृत्वमा पुग्न सहज नभएको बताउनुभयो । महिला सबै क्षेत्रको नेतृत्वदायी भुमिकामा नरहेसम्म महिला मैत्री वातावरण निर्माण हुन नसक्ने उहाँको भनाई थियो ।


पत्रकार बिमला पाण्डेले महिला मानवअधिकारका मुद्दा, महिलाको नेतृत्व स्थापितको मुद्दामा एकले अर्कोलाई खुट्टा नतानि हात समाएर अगाडि बढ्न आवश्यक रहेको धारणा राख्नुभयो । एकले अर्काको खुट्टा तानेर महिलाको नेतृत्व स्थापित नहुने उहाँको भनाई थियो । उहाँले स्थानीय तहलाई महिलामैत्री योजना, कार्यक्रम, बजेट निर्माण र कार्यान्वयनमा सहजीकरण गर्न समेत सुझाव दिनुभयो । 


सिन्धुली अपांग महिला संघ सिन्धुली अध्यक्ष दिलकुमारी देवकोटा (दीपा) ले अपांगता भएका महिलालाई महिला नेतृत्वले नै क्षमतामाथि प्रश्न गरेर आत्मवल घटाउने गरेको गुनासो गर्नुभयो । त्यसैगरी ओसिएमसि सिन्धुलीका घटना व्यवस्थापक सुनिता शर्माले लैंगिक हिंसाका सवालमा महिला नेतृत्व संवेदनशिल बन्दै सहयोगी बन्न आग्रह गर्नुभयो । स्थानीय स्तरमा लैंगिक हिंसाका सवालमा बहस गर्न आवश्यक रहेको उहाँले विचार व्यक्त गर्नुभयो । सुरक्षित आवास गृह, सिन्धुली प्रमुख गिता देवकोटाले लैंगिक हिंसाको पीडा कहाँ कसरी समाधान गर्ने भन्ने विषयले सधँै पिरोल्ने चिन्ता व्यक्त गर्नुभयो । यस समस्याको न्युनिकरण गर्न महिला नेतृत्वले महत्वपूर्ण भूमिका निभाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।


महिला उद्यमी विमला थापाले महिलालाई उद्यममा जोड्न र उत्पादनसँगै बजारीकरणमा जोडेर आर्थिक उपार्जनमा जोड्न स्थानीय तहले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रमका अन्य वक्ताहरुले जिल्लाका विभिन्न तहमा राजनीतिक नेतृत्वमा रहेका महिलाहरु आममहिलाका साझा मुद्दामा एक ठाउँमा हुन नसकेको बताउँदै दलिय आस्थालाई छोडेर एकतावद्ध हुन सुझाव दिएका थिए । साथै कार्यक्रममा नजिकिदै गरेको हरितालिका तीजको अवसरका शुभकामना आदानप्रदान समेत गरिएको थियो । 


 

प्रतिकृया दिनुहोस