विन्दा थापा : आमा बन्दाको अनुभुति 

 

सिन्धुली । आमा हुनु जीवनको एक सुन्दर र अलग यात्रा रहेछ । अब म आमा बन्दैछु भन्ने कुरा जब थाहा पाएँ मन खुुसीले फुरुङ्ग भयो । जतिबेला मेरो गर्भमा हुर्केको बच्चाले जन्म लिँदै थियो, त्यसबेला मैले आफैँलाई भुलेकी थिएँ । 


जेठको चर्को घाममा भारी बोकेर उकाली ओराली गर्दा गर्दै पसिनाले निर्थुक्क भिजेर थाकेको शरीरले वरपिपलको शितल छहारीमा भारी अड्याएर थकाइ मार्दै गर्दा सररर चलेको चिसो हावाले दिने आनन्दभन्दा पनि मिठो रहेछ आमा हुनुको अनुभूति । 


रोग, शोक, भोक र अभावमा थलिँदा–थलिँदा कुनै चमत्कारद्वारा यसबाट मुक्त भई पुर्नजीवन पाएभन्दा सुखद क्षणजस्तै रहेछ आमा बन्नु । आफू आमा हुनु भनेको सम्पूर्ण आमाहरुको त्याग र समर्पणलाई अझ नजिकबाट बुझ्नु पनि रहेछ ।


शल्यक्रियाबाट बच्चा निकालेर “हेर्नुस् त तपाईँको बच्चा !” भनेर डक्टरले देखाउँदा गर्भावस्थादेखि शल्यक्रिया गर्दासम्म भोगेका सबै पीडाहरु एकाएक हराएजस्तो अनुभूति भयो । मनमा आनन्दका लहरहरु उत्पन्न भए । सुरुका दुई दिन त बाबु मेरो छेउमा भएपनि उसलाई काखमा राखेर स्तनपान गराउन सक्ने स्थितिमा म थिइन् । उसलाई फर्मुला मिल्क दिइयो । उसलाई धित मर्ने गरी सुम्सुम्याउँदै छातीमा टाँस्न पनि सकिन । त्यसबेला चाहिँ साह्रै नमज्जाले मन रोएको थियो। 


दुई दिन पश्चात जब बसेर उसलाई पहिलो पटक स्तनपान गराएँ त्यसपछि  रोएको मन अलि शान्त भयो । यतिबेला मेरो सम्पूर्ण स्नेह बच्चा माथी पोेखिएको थियो । स्तनपान गरिरहेको छोरोको अनुहार हेरेर उसलाई सुम्सुम्याउँदै एउटा नौलो अनुभूतिमा टोलाइरहें ।


राती सुत्दा पनि उसैको मात्र तर्कना आउने रहेछ । कतै पल्टियो कि थिचियो कि दिशा पिसाब गरेर चिसोमा डुबीरहेको पो छ कि भन्ने लागिरहँदो रहेछ । आमा बन्नुभन्दा अगाडि अरुको बच्चाको दिशा पिसाब देख्दा घिनाउने म अहिले नघिनाउने भएकी छु । बच्चाले दिशा पिसाव गरेको लुगा फेराउँदा, धुँदा पटक्कै घिन लाग्दैन अचेल । हुन त दिशा त दिशा नै हो, आफ्नो बच्चाले गरेपनि अरुको बच्चाले गरेपनि । तर आफ्नोले गरेको घिन नलाग्ने अरुकोले गरेको लाग्ने कस्तो अनौठो अनुभूति हो यो ?


आमा शब्द आफैँमा जिम्मेवारीको भारी रहेछ । आमा बन्न सजिलो त कहाँ छ र ? न रातको निद्रा हुन्छ न दिनको आराम । रातभरी सन्तानकोे हेरचाह र मायामा समर्पित यी आँखा दिउँसो आराम खोज्छन् तर दिउँसो पनि बच्चाका लुगा धुन, तेल लगाउन, मालिस गर्न, खुवाउन, उसले गरेको फोहोर सफा गर्न, छरेका सामान मिलाउनदेखि लिएर घरका अन्य काममा यति व्यस्त भइन्छ कि आफ्नो लागि प्राइभेट समय त परको कुरा खाना खाने समयको ठेगान पनि हुँदैन । 


कहिले त आधा पेट खाएर पनि उठ्नुपर्छ । खान मन लागेका कति कुराहरु बार्नु पर्छ ।  बच्चाकै कारण कहिलेकाहीँ परिवारमा मनमुटाव पनि हुने गर्छ । झन् बच्चा बिरामी भइरहँदा, उसले नखाइदिँदा, झगडा गरिरहँदा, भोक र दुखाइले उसको निस्ताएको अबोध अनुहारले त खपिनसक्नुको पिडा दिँदो रहेछ । त्यतिबेला आमाको मनले एउटै कुरा भन्दो रहेछ त्यो अबोध बच्चाको भागको दुख बिमार जति सबै मेरो भागमा पारिदेऊ भगवान ।


कयौँ दुख र पिडाका बाबजुद पनि सन्तानको एक हाँसोमा ति सबै चोट क्षण भरमै विलिन हुँदा रहेछन् । उसले पहिलोपटक साहारा बिना हिँड्दाको दृश्य अझैपनि आँखामा झल्झल्ती नाच्छ । पहिलोपटक आमा भन्दा निस्किएको आवाज अहिलेपनि कानमा गुञ्जिरहन्छ । कति आत्मीय लाग्दा रहेछन् ती क्रियाकलापहरु । 


भर्खर–भर्खर बोली फुट्दै गर्दाको तोते बोली सुन्दा कुनै मिठो संगीत सुनेभन्दा बढी आनन्द आउँदो रहेछ । जति उ बोल्छ, छुनुमुनु गरेर वरिपरी घुम्छ, त्यति पीडाहरु कम हुँदै जाने रहेछन् । एउटी आमाले गर्भमा बच्चा बसेदेखि नहुर्किउनजेलसम्म अनेक कठिनाई भोगेकी हुन्छिन्,पीडा सहेकी हुन्छिन् । तर पनि उनिहरुको स–साना गतिविधिहरुमा यति मग्न भइदोरहेछ कि त्यो पीडाको ख्याल नै नआउँदो रहेछ । आउँदो रहेछ त केबल उनीहरुको खुसीको । 


मातृत्व शरीरमा होइन हृदयमा धड्किँदो रहेछ । एकछिन बाबुलाई छोडेर कतै जानुपर्दा मन उसँगै दौडिदोरहेछ । वास्तवमा, आफ्नो बच्चालाई अँगाल्दा, छातीमा राख्दा, काखमा खेलाउँदा, चुम्बन गर्दा एउटी आमालाई जुन स्वर्गीय आनन्द अनुभूत हुन्छ, त्यसलाई सायदै शब्दमा व्याख्या गर्न सकिन्न ।

 

प्रतिकृया दिनुहोस