सिन्धुलीका १५ हजार बालबालिकालाई आईपिभी खोप लगाईदैं

आईपिभी खोप अभियान जेठ २० गतेदेखि २५ गतेसम्म सञ्चालन हुने
खोप अधिकृत पुष्पराज पन्त आईपिभी खोप अभियान बारे संचारकर्मीलाई जानकारी गराउनु हुँदै

 

सिन्धुली । जिल्लामा पोलियो रोगविरुद्धको आईपिभी खोप अभियान जेठ २० गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको छ । जिल्लाका नौ वटै पालिकामा एकै पटक सञ्चालन गरिने भएको हो । 


अभियानअन्र्तगत जिल्लाका १५ हजार ८४० जना बालबालिकालाई पोलियो रोगविरुद्धको आईपिभी खोप लगाईने जनस्वास्थ्य कार्यालयका, सिन्धुलीका खोप अधिकृत पुष्पराज पन्तले जानकारी दिनुभयो । 


उहाँले भन्नुभयो, ‘राष्ट्रिय खोप कार्यक्रमअन्र्तगत २०७३ बैशाख महिनादेखि २०७५ असोज महिनासम्म जन्मिएका र पोलियो रोगविरुद्धको आइपिभी खोप लगाउन छुटेका  बालबालिकालाई ६५८ वटा खोप केन्द्रबाट खोप लगाईने छ ।’


खोप अभियानका लागि जिल्लामा एक हजार ३१६ जना स्वास्थ्यकर्मी र स्वयंमसेवकलाई परिचालन गर्ने तयारी रहेको उहाँले बताउनुभयो । 

 

१. आईपिभी खोप अभियान किन ?
विगतमा आईपिभी खोप लगाउन छुटेको कारण पोलियो रोगको जोखिममा रहेका बालबालिकालाई पोलियो रोगबाट सुरक्षित गराउन यो खोप अभियान सञ्चालन गरिँदैछ ।

 

२. पोलियो कस्तो किसिमको रोग हो ?
यो रोग पोलियो भाइरसको संक्रमणबाट हुन्छ । पोलियो भाइरस पि१, पि२, पि३ गरी तीन प्रकारका हुन्छन् र तिनवटै प्रकारका भाइरसबाट पोलियो रोग हुनसक्छ । यो रोगलाई “पोलियोमाईलाईटिस” पनि भनिन्छ । पोलियो भाइरसबाट संक्रमण भएको व्यक्तिलाई पक्षघात हुनसक्छ र पक्षघात भईसकेपछि निको हुदैन । किनभने, यसको कुनै निश्चित औषधी उपचार नै छैन । यो रोगबाट मृत्यु पनि हुनसक्छ ।

 

३. पोलियो रोग कुन उमेरका मानिसहरूलाई हुनसक्छ ?
पोलियो रोग जुनसुकै उमेरका मानिसलाई हुनसक्छ । तर ५ वर्ष मुनिका बालबालिका यो रोगको बढी जोखिममा हुन्छन् ।

 

४. पोलियो रोगबाट कसरी सुरक्षित हुन सकिन्छ ?
पोलियो रोग विरुद्धको खोप लगाउनु नै यो रोगबाट सुरक्षित हुने सबैभन्दा उत्तम र प्रभावकारी उपाय हो । यो रोग विरुद्धको खोप दुई प्रकारका छन् । ती मध्ये एउटा खोप मुखबाट खुवाउनु पर्छ जसलाई ओपिभी खोप भनिन्छ र अर्को खोप सूईबाट दिनुपर्छ जसलाई आईपिभी खोप भनिन्छ ।

 

५. पोलियो रोग विरुद्धको खोप कति पटक लगाउनु पर्दछ ?
पोलियो रोग विरुद्धका दुईवटा खोपहरू मध्ये ओपिभी खोप नियमित खोपको माध्यमबाट तीन पटक लगाउनुपर्छ । जसमा पहिलो पटक ६ हप्ताको उमेरमा, दोस्रो पटक १० हप्ताको उमेरमा र तेस्रो पटक १४ हप्ताको उमेरमा लगाउनुपर्छ । 
आईपिभी खोप नियमित खोपको माध्यमबाट दुई पटक लगाउनुपर्छ जसमा पहिलो पटक १४ हप्ताको उमेरमा र दोस्रो पटक ९ महिनाको उमेरमा लगाउनुपर्छ ।


६. ओपिभी खोप मात्रै लिएपछि पोलियो रोगबाट सुरक्षित हुन सकिदैन ?
सकिंदैन । पोलियो रोगबाट पूर्णरुपमा सुरक्षित हुन आईपिभी खोप पनि लगाउनुपर्छ । किनभने, पोलियो रोग विरुद्ध दिइने दुई प्रकारका खोपहरूले एक अर्को खोपले प्रदान गर्ने प्रतिरोध क्षमतालाई सुदृढ गर्न परीपूरकको रुपमा काम गर्दछन् । यसैले यो रोगबाट पूर्णरुपमा सुरक्षित हुन ती दुबै खोपहरू लगाउनु पर्छ । याद गर्नुहोस्, ओपिभी खोपको सट्टामा आईपिभी खोप प्रयोग गरिएको होइन ।


७. नियमित खोप सेवाबाट आईपिभी खोप लगाएका बालबालिकाले यस अभियानमा पनि आईपिभी खोप लगाउनु पर्दछ ?
पर्दैन । विगतमा नियमित खोप सेवाबाट आईपिभी खोप लगाएका बालबालिकाले यस अभियानमा यो खोप लगाउन पर्दैन ।

 

८. नियमित खोप सेवाबाट पनि आईपिभी खोप दिइन्छ भने किन यो खोप अभियान सञ्चालन गर्नु परेको हो ?
विश्व बजारमा नै आईपिभी खोपको अभाव भएको कारणले नेपालमा २०७३ सालको शुरुवात देखि २०७५ सालको पहिलो ६ महिनासम्म आईपिभी खोप अभाव भएको थिाये । त्यसबेला यो खोप लगाउन छुटेका लक्षित उमेरका बालबालिकालाई पोलियो रोग लाग्ने जोखिम रही रहने भएकाले यस अभियानमा आईपिभी खोप दिने गरी यो अभियान सञ्चालन गर्नु परेको हो ।

 

९.यो अभियानमा कुन उमेरका बालबालिकाले आईपिभी खोप लिनु पर्दछ ?
 २०७३ साल बैशाख देखि २०७५ साल असोज महिनासम्म जन्मिएका बालबालिकाले यो अभियानमा आईपिभी खोप लिनु पर्दछ ।

 

१०. आईपिभी खोप अभियान कहाँ कहाँ सञ्चालन हुदैछ ?
आईपिभी खोप अभियान देशभरी नै सञ्चालन हुँदैछ । सिन्धुलीमा भने २०८१ जेठ २० गतेदेखि २७ गतेसम्म सञ्चालन हुँदैछ । 

थप जानकारीको लागि टोल फ्री नम्बर १११५ मा फोन गर्नुहोस् वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गनुहोस् ।

 

 

प्रतिकृया दिनुहोस