सिन्धुलीमा वृद्धि अनुगमन प्रवर्द्धन कार्यक्रम सम्पन्न : ४६८ बालबालिका कुपोषणको समस्या ग्रस्त
सिन्धुली । जिल्लाका तीन वटा स्थानीय तहमा वृद्धि अनुगमन कार्यक्रमको क्रममा उमेर अनुसार कम तौल भएका ८७६ बालबालिकामध्ये ४६८ जना कुपोषित अवस्थामा फेला परेका छन्।
वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा सिड्स नेपालद्वारा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाका स्वयम्सेवकहरूले गरेको अनुगमन अनुसार ३११ जना बालबालिका न्यून कुपोषित, १०९ जना मध्यम कुपोषित, र ४८ जना कडा कुपोषित अवस्थामा भेटिएका हुन्।
तीनपाटन गाउँपालिकाका वार्ड ७, ८, १०, र ११, फिक्कल गाउँपालिकाका वार्ड २, ३, ४, र ५, तथा गोलञ्जोर गाउँपालिकाको वार्ड १ मा सञ्चालित परियोजनाबाट प्राप्त तथ्यांकले बालबालिकाहरूको स्वास्थ्य अवस्था सुधार गर्न थप योजना आवश्यक रहेको देखाएको छ।
सिड्स नेपालका कार्यक्रम व्यवस्थापक सागर धितालका अनुसार, अनुगमनको तथ्यांकका आधारमा कुपोषण समस्याको समाधान गर्न ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरू र उनीहरूका आमाहरूलाई लक्षित गर्दै विशेष कार्यक्रम सञ्चालन गरिने छ। आगामी दिनमा, परियोजनाबाट कुपोषित ६ देखि १० जना बालबालिका र उनीहरूका आमाहरूलाई १२ दिनसम्म सञ्चालन गरिने पोषण कक्षा मार्फत सरसफाइ, पोषणयुक्त खाना बनाउने र खुवाउने विधि सिकाइने योजना रहेको धितालले जानकारी दिनुभयो।
यसका लागि सहजकर्ताहरूलाई दुई दिने पुनर्ताजकी तालिम सम्पन्न गरिएको छ। तालिममा तीनवटा पालिकाका १८ जना सहजकर्ताको सहभागिता थियो। सकारात्मक झुकावसहित समूह पोषण चुलो कार्यक्रम तथा क्षमता अभिवृद्धि तालिम वर्ल्ड भिजन इन्टरनेशनल नेपालको बर्दिबासस्थित पूर्वी कार्यालयका पोषण लिड पूजा पोखरेल मण्डल, सिड्स नेपालका पोषण अधिकृत जगत कुमारी अधिकारी, फिल्ड अफिसर गोपाल भुजेल, र श्रृजना थापाले सहजीकरण गर्नुभएको हो।
स्थानीय बालबालिकाहरूको कुपोषण समस्या समाधान गर्दै सुपोषित जीवनस्तर सुनिश्चित गर्न समुदायस्तरमा संचालित यस्ता कार्यक्रमले दीर्घकालीन प्रभाव पार्ने विश्वास परियोजनाले व्यक्त गरेको छ।
प्रतिकृया दिनुहोस