सिन्धुलीको लोकतान्त्रिक चौरमा तेक्वान्दो सिक्दै बालबालिका


सिन्धुली । रातको अँध्यारोले विहानीको उज्यालो नपठाउँदै (झिसमिसेमा), बेलुका डुब्दै गरेको पहेँलो घामले साँझसँगै गोधुलीलाई नदेख्दै सिन्धुलीको लोकतान्त्रिक चौरमा खेलाडी उफ्रिरहेका हुन्छन् । दैनिक विहान–बेलुकाको समयमा उत्साहाका साथ तेक्वान्दो खेल सिकिरहेका भेटिन्छन् ।


खेलले बालबालिकाको सर्वाङ्गीक विकासमा सहयोग गर्ने भएकाले शिक्षित अभिभावले आफ्ना बालबालिकालाई सानै उमेरदेखि तेक्वान्दो खेलको अभ्यास गर्न पठाउँछन् । चौरमा तेक्वान्दो खेल सिक्न आउने बालबालिकाको उस्थिति रहर जाग्दो देखिन्छ । जिल्लाभित्रैका कतिपय ठाउँका बालबालिकाले प्रशिक्षकको अभावमा शुल्क तिरेर पनि तेक्वान्दो खेलको अभ्यास गर्न पाएका छैनन् । खेलमा विशेष रुचि भएपनि विभिन्न समस्याका कारण खेल अभ्यास गर्न पाउने अवसरबाट बन्चित छन् । तर, सिन्धुलीको सदमुकाम सिन्धुलीमाडी क्षेत्रका बालबालिकाले दैनिक निशुल्क तेक्वान्दो खेलको अभ्यास गर्न सक्छन् । यो अवसर यहाँका बालबालिकाले ३३ वर्षदेखि पाइरहेका छन् । 


कमलामाई नगरपालिका–४ धुराफाँटकी तुलसा श्रेष्ठ यो अभ्यासमा दुई वर्ष अघिदेखि नियमित सामेल हुनुहुन्छ । विहान सबेरै मनतातो पानी पिएर तेक्वान्दो खेल अभ्यासमा निस्कनु हुन्छ । जनज्योती माध्यमिक विद्यालय, फोस्रेटारमा माध्यमिक तहको शिक्षा प्राप्त गरिरहनु उहाँ बेलुका विद्यालयबाट पढेर घर फर्केपछि सोही कार्य दोहोर्याउनु हुन्छ । 


चौरमा पुगेर आफुजस्तै साथीहरुसँग दौडर्नु हुन्छ । टाउको, आँखा, मुख, घाँटी, औँला, नाडी, कुम, कम्मर, हिप, गोडा र पैतलाको व्यायाम गर्नु हुन्छ । खेलमा साइज स्ट्रेच, किक एक्सरसाइज लगायत खेलाडीको स्तरअनुसार शत्रुको कल्पनामा गरिने आत्मारक्षाको स्टेपहरु हुन्छन् । उहाँले यो अभ्यासका लागि विहानको दुई घण्टा र बेलुकाको दुई घण्टा छुट्याउनु भएको छ ।  उहाँलाई लोकतान्त्रिक चौरमा कहिले तेक्वान्दो खेल सिक्दै गरेको त कहिले सिकाउँदै गरेको अवस्थामा भेटिन्छ । तेक्वान्दो खेलमा हाफ ब्ल्याक बेल्ड प्राप्त गरिसक्नु भएकी श्रेष्ठ खेल अभ्यासले आफ्नो क्षमता विकासमा सहयोग गरेको बताउनु हुन्छ ।


भन्नुहुन्छ, “खेल अभ्यासले खेलाडी मात्रै बनाउँदैन, असल खानपानको अभ्यास गराउँछ । समग्रमा असल नेतृत्व क्षमता भएको व्यक्तित्व निर्माणमा सहयोग पुर्याउँछ । व्यक्तिलाई अनुशासित बनाउन मद्धत गर्दछ । सानातिना आक्रमणलाई प्रतिकार गरेर अगाडी बढ्ने सामर्थ प्रदान गर्दछ ।”


खेल अभ्यास गर्र्र्र्ने बालबालिका पढाईबाट बचेको समयमा चौरमै भेला हुन्छन् । राम्रो जिवनशैलीका लागि असल व्यवहारका बारेमा प्रशिक्षकको प्रवचन सुन्छन् । खेलको अभ्यास गर्दछन् । अन्य रचनात्मक र सिर्जनशील काममा केन्द्रित हुन्छन् । यसले खराब आनीबानी भएका साथी र गलत संगतबाट बालबालिकालाई जोगाउन  सहयोग पुगेको छ ।


कनपा–७ माझीटारकी आकृति माझिकाअनुसार तेक्वान्दोका प्रशिक्षक (कोच) डम्बर आलेले तेक्वान्दो खेलसँगै असल खानपान, असल जिवनशैली, असल व्यवहार, व्यायाम, आचारण र असल संगतका बारेमा पनि सिकाउनु हुन्छ । ‘स्वस्थ र निरोगी स्वास्थ्यका लागि सानैदेखि खेल अभ्यासमा लाग्नु पर्छ । सानो उमेरदेखि नै खेल अभ्यास गर्नेहरुमा पछिसम्म व्यायामको आदत बस्छ, माझी आफ्नो कोचले सिकाएका कुरा सम्झिदै भन्नुहुन्छ, “अस्वस्थकर खानपान र जिवनशैलीले हामीलाई विभिन्न रोगले च्याप्छ । विहान सबेरै उठ्ने, नियमित व्यायाम गर्ने, स्वस्थकर र सन्तुलित खानेकुराहरु मात्रै खाने र हानीकारक तत्वहरुबाट बच्नु पर्छ । जसले स्वस्थकर र खुसियाली जिवन जिउन सहयोग गर्दछ ।” 


तेक्वान्दोलाई विशुद्ध खेलमात्र नभए स्वस्थ, तन्दुस्त, निरोगी र फुर्तिलो रहने उत्तम व्यायामको रुपमा लिनुहुन्छ, कमलामाई नगरपालिका–७ सिन्धुलीका स्थानीबासी तथा  तेक्वादो खेलका प्रशिक्षक (कोच) डम्बर आले । 


२०४८ सालदेखि सिन्धुलीमा निरन्तर निशुल्क तेक्वादो खेल सिकाउँदै आउनु भएको उहाँ बिहिबार बेलुका सिन्धुलीमाडीस्थित लोकतान्त्रिक चौरमा सोही कर्ममा व्यस्त हुनुहुन्थ्यो ।  प्रशिक्षक आलेकाअनुसार तेक्वान्दो खेल्न ठ्याक्कै यति उमेरको हुनुपर्छ भन्ने त्यस्तो कुनै नियम छैन । तर, सानैदेखि खेल्दा राम्रो हुन्छ । खेलले स्वास्थ स्वस्थ, निरोगी बनाईराख्न सहयोग गर्दछ । बालबालिकालाई आँटिलो र तेजिलो बनाउँछ । कसैले कुनै पनि प्रकारको हिंसा गरेमा प्रतिकार गर्न सक्ने क्षमताको विकास गर्दछ । लागु औषध दुब्र्यशनी र मोबाईल, इन्टरनेटको लतबाट बचाउनसमेत खेलले सहयोग गर्दछ ।


कार्यालय समयमा कमलामाई नगरपालिकामा सवारी चालकका रुपमा काम गर्ने डम्बर आले विहान बेलुकाको समय समाज सेवामा खर्चीने गर्नुहुन्छ । तेक्वान्दो खेलसँगै शरीरलाई स्वस्थ राख्न स्वस्थकर खानपानका बारेमा जानकारी दिनुहुन्छ । बालबालिकालाई कुलतमा लाग्नबाट बचाउन सचेतना जगाउनु हुन्छ । तेक्वान्दो सिकाउँदा समुदायमा सहयोग पुग्ने र आफ्नो शरीरलाई स्वस्थ राख्न व्यायाम पनि हुन्छ । भन्नुहुन्छ, “स्वस्थ व्यक्ति धनि हो । खेलले शारीरीक, मानसिक स्वास्थ्य स्वस्थ राख्न मद्धत गर्दछ । बालबालिका जताजतै असुरक्षित छन् । यस्तो अवस्थामा खेलले प्रतिकार गर्न सिकाउँछ ।”


ध्यान, आत्मारक्षा, आत्माविश्वास, आत्मासम्मान, अनुशासन तथा व्यक्तित्व विकासका लागि बालबालिकाई तेक्वान्दो खेल अभ्यास गराउन उहाँ सम्पूर्ण अभिभावकलाई सुझाव दिनुहुन्छ । खेलको नियमित अभ्यास गर्नाले बालबालिकामा रोगसँग जुध्ने क्षमता पनि बढ्ने उहाँको तर्क छ । योसँगै तेक्वान्दो अभ्यास गरेका बालबालिकालाई खेलको अलवा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, वन रक्षक जस्तो क्षेत्रमा प्रवेश गर्न सजिलो भएको प्रशिक्षक आलेलाई आफ्ना प्रशिक्षार्थीहरुले सुनाउँछन् । कतिपय बालबालिकाका अभिभावकहरु तेक्वान्दो सिकाइरहेको ठाउँमा आएर धन्यवाद व्यक्त गर्दछन् । प्रशिक्षार्थीहरुबाट व्यहत्तर सम्मान र माया पाउनु भएको छ । यसले उहाँलाई आत्मा सन्तुष्ठी मिलेको छ । यसले दिएको प्रेम, सम्मान र आफुलाई प्राप्त हुने आनन्द पैसाले किनेर नपाईने उहाँ बताउनुहुन्छ ।  


‘खेलको फाइदा, महत्व र प्रभावसम्बन्धी चेतना समाजमा विस्तार हुँदै गएको छ । बलिरहेको बत्तिमा पुतलीको आर्कषण भएजस्तै खेल क्षेत्रमा बालबालिका, युवा सबैको आर्कषण छ,’ उहाँ भन्नुहुन्छ, “समाजमा विभिन्न प्रकृतिका हिंसा बढ्दै गएपछि सुरक्षालाई ध्यानमा राखेर अभिभावले आफ्ना बालबालिकालाई यस खेलमा प्रेरित गरिरहेका छन् । तर, राज्यको प्राथमिकतामा पर्न सकेको छैन । स्थानीय सरकारले खेल क्षेत्रको मर्म बुझ्न सकेको छैन ।”  


राष्ट्रिय खेलकुद परिषदले प्रत्येक विद्यालयमा एक जना खेलकुदका लागि शिक्षक राख्ने नीति लिएको भएपनि प्रभावकारी कार्यान्वयन हुन नसकेकामा उहाँलाई आपत्ति छ । कमलामाई नगरपालिकाभित्र रहेका पाँच वटा बोडिङ स्कुलले भने कार्यान्वयनको सुरुवात गरेका छन् । सबै विद्यालयमा यस नीतिलाई कार्यान्वयन गर्नु पर्ने उहाँको अडान छ  । ‘तीनै तहका सरकारले खेल क्षेत्रलाई थप व्यवस्थित र विकाससँगै विस्तार गर्न जरुरी छ,’ प्रशिक्षक आले भन्नुहुन्छ, “तेक्वान्दो खेलको विकास र विस्तारले देशमा स्वस्थ नागरिक उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।” 


उहाँले हाल २० वर्ष मुनीका ५० जनाभन्दा बढी बालबालिकालाई दिनुहूँ शुल्क नलिकन तेक्वान्दो सिकाइरहनु भएको छ । यसलाई अभियानको रुपमा जिल्लाका सबै बालबालिका माझ पुर्याउन आवश्यक छ भन्ने उहाँलाई लाग्छ । तर आर्थिक अभावका कारण सकिरहनु भएको छैन । यसतर्फ सरकारको ध्यान जानु पर्नेमा उहाँको जोड छ । 


आफ्ना बालबालिकाले प्रशिक्षक आलेबाट निशुल्क तेक्वान्दो सिक्न पाएकोेमा अभिभावकहरु खुसि छन् । अभिभावक अनिता तामाङ तेक्वान्दो खेल तालिममा जान थालेपछि आफ्नो छोरीमा धेरै परिर्वतन आएको बताउनुहुन्छ । भन्नुहुन्छ, “खेलले बालबालिकालाई स्मार्ट बनाउन सहयोग गर्दो रहेछ । असल खानपान, असल व्यवहार र अनुशासित बन्न बालबालिका प्रेरित हुँदा रहेछन् ।”


प्रशिक्षार्थी मनिका पुर्वछाने मगर सिन्धुलीमाढीमा तेक्वान्दो निशुल्क सिक्न पाएकोमा कोच प्रति कृतज्ञ हुनुहुन्छ । भन्नुहुन्छ, ‘हामीले प्रमाण–पत्र शुल्क वापतको पैसा बाहेक अरु सबै सुविधा निशुल्क पाएका छौँ । यसले हाम्रो परिवारलाई आर्थिक भार थपिएको छैन ।’ 


निशुल्क तेक्वादो सिक्ने अवसरको बढी लाभ बालिका तथा किशोरीहरुले लिन पाएका छन् । पहिला तेक्वान्दो खेलको अभ्यास गर्ने बालक र किशोर मात्रै हुने गर्दथे । खेलबाट आफ्नो आत्मारक्षा आफैले गर्न सक्ने क्षमताको विकास हुने बुझाई जनमानसमा विस्तार हुँदै गएकाले पछिल्लो समय तेक्वान्दो अभ्यासमा बालिका र किशोरीको उल्लेखिय सहभागीता देखिन थालेको छ । बालबालिका मात्रै होइन, मोटोपनाबाट ग्रसितहरुले पनि तेक्वान्दोको साहारा लिएर शरीरलाई सन्तुलनमा राख्न थालेका छन् । उमेर ढल्किसकेका र अपाङ्गता भएकाहरुले पनि यो खेल खेल्न सक्छन् । प्रशिक्षकले शारीरिक अवस्थाअनुसार प्रशिक्षण दिन्छन् । 

प्रतिकृया दिनुहोस