उद्योग वाणिज्य महासंघ निर्वाचनः केन्द्रीय कार्यकारिणी सदस्यमा अर्जुन कुमार श्रेष्ठको उम्मेदवारी
सिन्धुली । नेपाल उद्योग वाणिज्य महासंघको खुल्ला नगरतर्फ केन्द्रीय कार्यकारिणी समिति सदस्यमा सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले मनोनयन दर्ता गर्नुभएको छ । आसन्न निर्वाचनमा अन्जन श्रेष्ठको प्यानलबाट उहाँले आज उम्मेदवारी दर्ता गर्नु भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा सिनधुलीबाट उहाँको एकल उम्मेदवारी रहेको छ । सिन्धुली उद्योग वाणिज्य संघमा असल र सफल नेतत्व गरिराख्नु भएका अर्जुन कुमारले जिल्लाको उद्यम, व्यापार र व्यवसाय प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउनु भएको छ । उहाँको नेतृत्वमा संघले स्थानीय व्यवसायी र उद्यमीहरूको क्षमता अभिवृद्धि गर्ने विभिन्न कार्यक्रमहरू समेत सञ्चालन गरेको थियो ।
मेला, महोत्सव आयोजना गरी व्यवसायिक नेटवर्क विस्तार गर्नुका साथै जिल्लाको पर्यटकीय र सामाजिक क्षेत्रमा पनि उहाँको योगदान उल्लेखनीय छ । विपद् तथा आपतकालीन अवस्थामा सहयोग पु¥याउने उहाँको सक्रियता सधैं प्रशंसायोग्य मानिन्छ । पहिलो कार्यकालमा आगलागीका घटना नियन्त्रण गर्न उहाँको नेतृत्वमा दमकल खरिद गरी कमलामाई नगरपालिकालाई हस्तान्तरण समेत गरिएको थियो ।
सिन्धुली उद्योग वाणिज्य संघमा हाल द्रोस्रो कार्यकालको नेतृत्व सम्हाल्दै आउनु भएका अर्जुन कुमारले आर्थिक अभावका कारण उपचार नपाएर अकालमै ज्यान गुमाउन नरोस भनेर अक्षय कोष स्थापना गरी सहयोग प्रदान गर्ने कार्य प्रारम्भ गर्नुभएको छ ।
स्थानीय तथा राष्ट्रिय स्तरमा व्यवसायिक वातावरण सुधार, उद्यमशीलता प्रवद्र्धन, व्यापार नेटवर्क सुदृढीकरण तथा विस्तार र सामाजिक उत्तरदायित्व कार्यक्रमलाई सशक्त बनाउने एजेण्डा उहाँको प्राथमिकता छ । पारदर्शिता, कार्यकुशलता र युवा सहभागितालाई उहाँले जोड दिनुभएको छ ।
उहाँले देशभरका मतदातालाई आफ्नो उम्मेदवारीमा अमूल्य मत दिएर सहयोग गर्न विनम्र अनुरोध गर्नुभएको छ । उहाँको विश्वास छ कि सामूहिक प्रयास र सहकार्यबाट उद्योग वाणिज्य महासंघलाई अझ सशक्त, पारदर्शी र व्यवसायमैत्री बनाउने अवसर प्राप्त हुनेछ ।
नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारण सभा र निर्वाचन यही चैत २९ र ३० गते काठमाडौंमा हुँदैछ ।







प्रतिकृया दिनुहोस