‘चकटी बिक्री हुने बजार चाहियो’
सिन्धुली । कमलामाई नगरपालिका–४ ज्यामिरे गाउँका महिला परिश्रमी र पौरखी छन् । हात बाँधेर बस्दैनन्, एकैछिन फुर्सद भयो की चकटी बनाउन थालिहाल्छन् ।
गाउँका महिलालाई उद्यम, व्यवसायमा जोडेर आत्मानिर्भर बनाउने वडा कार्यालयको लक्ष्य छ । लक्ष्य प्राप्तीका लागि गाउँ–टोलमा सीपमुलक तालिम भैरहन्छन् । वडाले चालुआर्थिक वर्षमा एक सय ५० जना महिलालाई पराल, बाबियो, थाकल, खर र खोस्टाबाट आर्कषक चकटी बनाउने तालिम दियो । यसमध्य ज्यामिरका मात्रै ५० जना महिलाले उक्त सीप सिक्ने अवसर प्राप्त गरेका थिए ।
चकटी बनाउन चाँहिने आवश्यक सामाग्री गाउँमै उपलब्ध छ । अहिले सीप जानेका महिला फुर्सद भयो की चकटी बनाउन थाल्छन् । मिहेनती महिला हात एकैछिन खाली राख्दैनन् । सबैमा उद्यमशील भएर आफैँमा आत्मानिर्भर बन्ने हुटहुटी जागेको छ ।
दुई चरणमा १० दिने तालिम प्राप्त गरेका महिला आर्कषक चकटी बनाउन सिपालु भएका छन् । तालिम लिएका केवरे, बराईली, दर्लामी र ज्यामिरेका महिलासँग सीप छ । सीपअनुसारको उत्पादन गर्न थालेका छन् । तर, उत्पादित चकटीले बजार पाउन सकेको छैन ।
ज्यामिरेकी सुनिता श्रेष्ठ वडा कार्यालयको सहयोगमा निशुल्क चकटी बनाउने सीप सिक्न पाएकोमा खुसी हुनुहुन्छ । सीप सिकेर उहाँले केही थान चकटी बनाई पनि सक्नु भएको छ । अहिलेसम्म उहाँले बनाएका चकटी बिक्री गर्ने बजारको सुनिश्चितता छैन ।
“चकटी बनाउन सिकिम । अब हामीले बनाएका चकटी बिक्री गर्ने बजारको सुनिश्चित भए सीप सिकेका सबै महिलालाई उत्पादन गर्न हौसला मिल्थ्यो । म पनि रोजगारीको खोजीमा भौतारीनु पर्ने थिएन,” युवा उमेरकी श्रेष्ठले भन्नुभयो ।
ज्यामिरे केवरे, बराईली र दर्लामीका एक सय ५० जना महिलासँग चकटी बनाउने सीप छ । यो सीपलाई उद्यमका रुपमा विकास गरेर आत्मानिर्भर बन्ने महिलाको हुटहुटीमा चुनौतीको विषय बनेको छ, बजार व्यवस्थापनको । ‘वडाले चकटी बनाउने सीप सिकाई दिएर के गर्नु ? बिक्री गर्न सजिलो छैन,’ कुडुलेकी अप्सरा मगरले स्थानीय सरकारसँग माग गदैँ भन्नुभयो, “अब हामीलाई चकटी बिक्री हुने बजार चाहियो ।”
कमलामाई नगरपालिका–४ का वडाध्यक्ष महेन्द्र प्रसाद ढकालले बजार व्यवस्थापनको जिम्मा स्थानीय सरकारले लिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँकाअनुसार बजार व्यवस्थापनका लागि स्थानीय सरकारले प्रयास गरिरहेको छ ।
म्याटलगायत अन्य प्लाष्टिकजन्य विदेशी आयातित सामाग्रीहरुले गाउँघरको मौलिकता गुम्ने खतरा बढेकाले चकटी बनाउने सीपको प्रर्वद्धन गर्न लागिएको उहाँले बताउनुभयो । सँगै यसले महिलालाई उद्यम र व्यवसायमा लागेर आत्मानिर्भर बन्न प्रेरणा मिल्ने उहाँको भनाई छ ।
प्राकृतिक रुपमा उपलब्ध हुने सामाग्रीहरुको प्रयोग गरेर बनाईने चकटीको प्रर्वद्धन गर्न स्थानीय सरकारले प्रयास गरेपनि आधुनिक सामाग्रीहरुको प्रयोगमा आएको व्यापकताले यस्ता सामाग्रीहरु ओझेलमा पदैँ गएका छन् ।
हातबाट बनार्ईएको चकटी पहिला हरेकका घरमा हुन्थे । घरमा पाहुना आउँदा बस्नलाई चकटी दिने चलन थियो । आजकल यो चलन हराईसकेको छ । स्थानीय स्तरमा पाईने धानको पराल, मकैको खोस्टा, खर, बाबियो र थाकलबाट बनाईने चकटी नेपाली समुदायको परम्परागत सीप हो । अघिल्लो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा यो लोप हुने खतरामा छ । यसका लागि विदेशबाट आयातित हुने सामाग्रीलाई रोकेर स्थानीय उत्पादनको विकास र बजारिकरणमा जोड दिनुपर्ने उहाँको बुझाई छ ।
गाउँको मौलिकता जोगाउँदै प्रत्यक महिलाको हातमा एउटा सीप, सभ्य घर, सबैको घरमा सिजनअनुसारको फूल फुलेको, प्रत्यकको घरमा सिजनअनुसारको करेसाबारी, अर्गानीक तरकारी उत्पादन लगायतका स्वरोजगारमुलक कार्यक्रम सञ्चालन गरेर वडा नम्बर ४ लाई एउटा नमुना वडा बनाउन खोजिएको वडाध्यक्ष ढकालले बताउनुभयो ।
प्रतिकृया दिनुहोस